भारतीय गाडीमा प्रहरीले बरामद गरेको लागूऔषध ।

हेटौँडा : भारतीय नम्बरको गाडीमा लागूऔषधसहित २ जना भारतीय नागरिकलाई मकवानपुर प्रहरीले हेटौँडाबाट पक्राउ गरेको छ । आइतबार बिहान ९ बजेर २५ मिनेटको समयमा हेटौँडा–१५, रातोमाटेबाट प्रहरीले प्रतिवन्धित लागूऔषध फेनार्गन १ हजार ९ सय ५० एम्पुल, नुर्फिन १ हजार ९ सय ५० एम्पुल, डाइजेपाम १ हजार ९ सय ५० एम्पुल गरी जम्मा ५ हजार ८ सय ५० एम्पुल र ट्रामाडोल २ सय ४० क्याप्सुल बरामद गरेको जनाएको छ ।

भारतको रक्सौलबाट काठमाडौंतर्फ जान आउँदै गरेको बीआर ०१ पीबी १८०२ नम्बरको भारतीय सुमोलाई रोकेर सुरक्षाजाँच गर्दा लागूऔषध बरामद भएपछि मकवानपुर प्रहरीले भारतको उत्तर प्रदेश राज्यको बहराईच जिल्लाका ३५ वर्षीय किस्मत अली र २८ वर्षीय शाहरख अलीलाई पक्राउ गरेको जनाएको छ । प्रहरीले उनीहरुलाई हिरासतमा राखेर थप अनुसन्धान गरिरहेको जनाएको छ ।