हेटौँडा : बकैया–४ स्थित महेन्द्र माध्यमिक विद्यालय (प्राविधिक शिक्षालय) ले प्रथम त्रैमासिक परीक्षाको नतिजा प्रकाशन तथा अभिभावक, विद्यार्थी र शिक्षकबिच अन्तरक्रिया शुक्रबार सम्पन्न भएको छ । प्रथम त्रैमासिक परीक्षामा उत्कृष्ट अंक ल्याउने विद्यालयका बालविकास तहदेखि कक्षा १० सम्मका विद्यार्थीहरुलाई पुरस्कार वितरण गरिएको छ ।
कार्यक्रममा कक्षा १० को अभिभावक भेला पनि सम्पन्न भएको छ । भेलामा कक्षा १० को नतिजा र विद्यार्थीको वास्तविक अवस्थाबारे अभिभावकलाई जानकारी दिने र आउँदो एसईई परीक्षामा नतिजामा सुधार ल्याउन त्रैमासिक परीक्षाको नतिजाबारे अन्तरक्रिया गरिएको विद्यालयका प्रधानाध्यापक खेम विकले जानकारी दिनुभयो । आगामी दिनमा नतिजा सुधार गर्न के गर्न सकिन्छ भन्ने विषयमा अभिभावकहरुसँग छलफल भएको उहाँले जानकारी दिनुभयो ।
विद्यालयमा हाल कक्षा १० मा साधारण धारतर्फ ४८ जना र प्राविधिक धारतर्फ २९ जना इलेक्ट्रिक इन्जिनियरिङ विषय अध्ययन गरिरहेका छन् । विद्यालयमा अध्ययनरत विद्यार्थीहरुको एसईई नतिजा उत्कृष्ट ल्याउन विद्यालयले प्रयत्न गरिरहेको प्रधानाध्यापक विकले जानकारी दिनुभयो । अन्तरक्रिया कार्यक्रममा विद्यालय व्यवस्थापन समिति अध्यक्ष परशुराम गौतमको प्रमुख आतिथ्यमा भएको हो । कार्यक्रममा विद्यालयका प्रधानाध्यापक विक, विषयगत शिक्षकहरु, विद्यालयका विभिन्न तहका इन्चार्जलगायत अभिभावक तथा विद्यार्थीहरुको सहभागिता थियो ।











