हेटौँडा : निजी तथा आवासीय विद्यालय अर्गनाइजेसन नेपाल (प्याब्सन) ले प्रस्तावित शिक्षा विधेयकमा संस्थागत विद्यालयको सन्दर्भमा भएको व्यवस्थामा संशोधन माग गर्दै आज शुक्रबार विद्यालय बस र्याली गर्ने भएको छ । बिहीबार बसेको प्याब्सन प्रदेशस्तरीय समितिको आन्दोलन तयारी बैठकको निर्णयअनुसार शुक्रबार बिहान ११ बजे विद्यालयको बसहरु नगर परिक्रमा गराउने प्याब्सन मकवानपुर अध्यक्ष विनोद सुवेदीले जानकारी दिनुभयो ।
प्याब्सनले विभिन्न माग राख्दै गत बिहीबारबाट बिरोध कार्यक्रमहरु सञ्चालन गर्दै आएको छ । प्याब्सनले गत बिहीबार हेटौंडा उपमहानगरपालिका, थाहा नगरपालिका र मनहरी गाउँपालिकाको नेतृत्वलाई ज्ञापनपत्र बुझाएको थियो । गत शुक्रबार जिल्ला प्रशासन कार्यालय मकवानपुर, जिल्ला समन्वय समिति मकवानपुर र शिक्षा विकास तथा समन्वय इकाई मकवानपुरमा ज्ञापनपत्र बुझाइएको हो ।
प्रतिनिधिसभाको शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिबाट पारित भएको प्रस्तावित शिक्षा विधेयकमा केही विषयहरु निजी विद्यालयहरुलाई अमान्य रहेको भन्दै प्याब्सनले ज्ञापनपत्र बुझाएको हो । निजी विद्यालयहरुलाई क्रमशः गैरनाफामूलक बनाउने, पूर्ण छात्रवृत्ति दिनुपर्ने विषय संशोधन गर्न तथा विद्यार्थी संख्याको १० प्रतिशत छात्रवृत्ति दिने प्रावधानलाई निरन्तरता दिइनुपर्ने प्याब्सनको माग छ ।
प्याब्सनको केन्द्रीय बैठक मंगलबार बसेको थियो भने बुधबार जिल्लास्तरीय समितिको आन्दोलन तयारी बैठक बसेको थियो । बिहीबार प्रदेशस्तरीय समितिको आन्दोलन तयारीका लागि बसेको बैठकले गरेको निर्णय अनुसार निजी विद्यालयको बसहरुले बजार परिक्रमा गर्ने बताइएको छ । हेटौंडाको हुप्रचौर, रजत जयन्ती सडकबाट सुरु भई सीमाचोक, बुद्धचोक हुँदै लोकप्रिय भोजनालयबाट मनकामना चोकसम्म बसले परिक्रमा गर्ने सुवेदीले जानकारी दिनुभयो ।











