हेटौंडा : शिक्षा विकास तथा समन्वय इकाई मकवानपुरले एक दशकअघि जिल्लाका विद्यालय निर्माण तथा मर्मत प्रक्रियामा भएका खर्च तथा बेरुजु विवरण पुनः पेश गर्न जिल्लाका विद्यालयहरुलाई आग्रह गरेको छ । इकाईले आर्थिक वर्ष २०६९/०७० देखि आर्थिक वर्ष २०७४/०७५ सम्म जिल्लाका विद्यालयहरु निर्माण तथा मर्मत कार्यमा भएका बेरुजु विवरण पुनः पेश गर्न विद्यालयहरुलाई आग्रह गरेको हो ।
इकाईले हेटौंडा उपमहानगरपालिकाका ६८, मनहरी गाउँपालिकाका २३, बागमतीका १९, बकैयाका २१, कैलाशका ३८, मकवानपुरगढीका २७, इन्द्रसरोबरका १३, राक्सिराङका ३३, भीमफेदीका २९ वटा र थाहा नगरपालिकाका २१ विद्यालयहरुलाई उक्त अवधिमा तत्कालीन जिल्ला शिक्षा कार्यालयमार्फत् निर्माण तथा मर्मत सम्भारका लागि बजेट उपलब्ध गराएको जानकारी दिएको छ । विद्यालयमा ५० हजारदेखि १० लाख रुपैयाँसम्मका कार्यक्रमका लागि कुल २ करोड ४० लाख रुपैयाँ बजेट निर्माण तथा मर्मतमा खर्च भएको तथ्याङ्क छ ।
तत्कालीन अवस्थामा ती विद्यालय निर्माण तथा मर्मत खर्चको लेखापरीक्षण महालेखा परीक्षकको कार्यालयले गर्ने या संसदीय लेखा समितिले गर्ने भन्ने दुबिधाका बिच जिल्ला शिक्षा कार्यालय खारेज भएको थियो । संघीयता कार्यान्वयनमा आएसँगै जिल्ला शिक्षा कार्यालयको सट्टा शिक्षा विकास तथा समन्वय इकाईको व्यवस्था भएको हो ।
बेरुजु सम्परीक्षण गराउनका लागि महालेखा परीक्षकको कार्यालयले गर्ने निर्णय भएसँगै सम्परीक्षणका लागि पुनः ती विद्यालयहरुसँग खर्च तथा बेरुजु विवरण माग गरिएको शिक्षा विकास तथा समन्वय इकाई मकवानपुरका सूचना अधिकारी उन्नति ढकालले जानकारी दिनुभयो । इकाईले हाल बिद्यालयहरुसँग समन्वय गर्न कठिनाई भएपछि प्रत्येक स्थानीय तहमार्फत् समन्वय गरेर निर्माण विवरण माग गरेको छ । केही विद्यालयबाट इकाईमा विवरण आइसकेको उहाँले बताउनुभयो ।











