हेटौँडा : नेकपा एमालेको भातृ संगठन युवा संघ मकवानपुरको आयोजनामा हेटौँडाको हुप्रचौरमा भएको रक्तदान कार्यक्रममा २ सय ७४ जनाले रक्तदान गरेका छन् । युवा संघले वृहत रक्तदान कार्यक्रम आयोजना गरी हालसम्मकै बढी रगत संकलन गर्ने योजनारुप कार्यक्रम आयोजना गरिएको हो ।
रक्तसञ्चार केन्द्र हेटौँडाका प्रमुख टंक दाहालका अनुसार यो हालसम्मकै सबैभन्दा बढी संख्यामा रक्तदान भएको हो । यसअघि सबैभन्दा बढी २२१ जाने रक्तदान गरेका थिए। संकलित रगत मध्ये सिराहा जिल्लास्थित रक्तसञ्चार केन्द्र लहानमा १ सय युनिट रगत पठाउने रक्तसञ्चार केन्द्र हेटौँडाका प्रमुख टंक दाहालले जानकारी दिनुभयो । रक्तसञ्चार केन्द्र हेटौँडाका प्रमुख दाहालका अनुसार भोलि शुक्रबार ब्रह्मकुमारी राजयोग सेवा केन्द्रले पनि वृहत रक्तदान कार्यक्रमको आयोजना गरेको छ । भोलि हुने कार्यक्रममा रगत संकलनको अवस्था हेरेर संकलित रगत चितवन पठाइने दाहालको भनाई छ ।











