गाईजात्रा विशेष हास्यव्यङ्ग्य कार्यक्रमको क्रममा खिचिएको तस्विर ।

हेटौंडा : सिस्नुपानी नेपाल मकवानपुरले गाईजात्रा विशेष हास्यव्यङ्ग्य कार्यक्रम गरेको छ । हेटौंडा उपमहानगरपालिका ४ नं. वडा कार्यालयको प्रवद्र्धन र सिस्नुपानी नेपाल मकवानपुरको आयोजनामा वुधबार ओम्याक्स सिनेमा हलमा कार्यक्रम भएको हो ।

सिस्नुपानी नेपाल मकवानपुरका अध्यक्ष संप्रस पौडेलको सभाध्यक्षतामा कार्यक्रम भएको थियो । कार्यक्रममा जिल्ला समन्वय समिति मकपानपुरका प्रमुख ललितबहादुर घलान, मकवानपुरका प्रमुख जिल्ला अधिकारी स्किम श्रेष्ठ, हेटौंडा उपमहानगरपालिकाका नगरप्रमुख मीनाकुमारी लामा, वडा नं. ४ का वडा अध्यक्ष नवीन सिग्देल, राष्ट्रियसभाका पूर्वसदस्य केदार न्यौपाने र रामचन्द्र राई, सिस्नुपानी नेपाल मकवानपुरका सल्लाहकार एवम् निवर्तमान अध्यक्ष राजकुमार लामिछानेलगायत अतिथिहरुको सहभागिता थियो ।

कार्यक्रममा दिविशा श्रेष्ठको टोलीले स्वागत नृत्य प्रस्तुत गरेका थिए । विभिन्न कलाकार तथा साहित्यकारहरुले प्यारोडी गायन, हास्यव्यङ्ग्य कविता, कथा, समाचारलगायतका प्रस्तुति गरेका थिए ।

राजकुमार लामिछाने, चिरञ्जीवी लामिछाने र संप्रस पौडेलको टिमले ‘नीति तथा कार्यक्रम’ शीर्षकमा प्रस्तुति गरेका हुन् । सागर तिमल्सिनाले ‘चारैतिर आँखा नचाइ’, अजर फुयाँलले ‘आउ हामी तर मारौँ’ र सुमार्गी हुमागाईंले ‘रामजाने’ प्यारोडी गायनका साथै क्यारिकेचर प्रस्तुत गरे । आकाशकाजी श्रेष्ठ, डीबी बर्तौला, सुवास सजल, विशेषता अधिकारी र रीता लामाको समूहले ‘मर्निङ्ग वाक’ प्रहसन प्रस्तुत गर्दा गोविन्द पौडेलले हास्यव्यङ्ग्य कविता र गहन खतिवडाले ‘एकादेशको कथा’ गायन प्रस्तुत गरेका छन् ।

कार्यक्रममा शुभकामना मन्तव्य राख्दै नगरप्रमुख लामाले साहित्यसहित सर्वाङ्गीण विकासका लागि आफूहरु लागि परेको बताउनु भयो । वडा अध्यक्ष सिग्देलले विगत झै अगामी दिनमा पनि सिस्नुपानी नेपाल मकवानपुरसँग सहकार्य गर्ने आश्वासन दिनुभयो ।