हेटौँडा : नेपाल पत्रकार महासंघ मकवानपुरले महिला पत्रकारहरुका लागि लक्षित गरेर प्रजनन स्वास्थ्य तथा सुरक्षित सुत्केरी प्रवद्र्धन कोषको शुभारम्भ गरेको छ । महासंघ मकवानपुरले बिहीबार एक कार्यक्रम आयोजना गरेर कोषको स्थापना गरेको हो ।

महिला पत्रकारहरुको प्रजनन् स्वास्थ्य उपचार र सुरक्षित सुत्केरी प्रवद्र्धनका लागि स्थापना गरिएको कोषको हेटौँडा उपमहानगरपालिका प्रमुख मीनाकुमारी लामाको प्रमुख आतिथ्यमा शुभारम्भ गरेकी थिइन् । सुत्केरी महिलाहरुको स्वास्थ्य सेवा तथा पोषण कार्यक्रमका लागि उक्त कोषबाट प्राप्त हुने रकम खर्च गरी उपाध्यक्ष रिजालको संयोजकत्वमा समिति निर्माण गरिएको थियो ।

कोष सञ्चालन गर्न उपाध्यक्ष रिजालको संयोजकत्वमा कार्यविधि मस्यौदा निर्माण समिति गठन भई कार्य भइरहेको छ । उक्त समितिले कार्यविधि मस्यौदा निर्माण सकेपछि महासंघको बैठकबाट अनुमोदन गरेर कार्यक्रम सञ्चालन हुनेछ । कोष सञ्चालनमा आएपछि पत्रकार महिलाहरुको सुरक्षित सुत्केरीका लागि सुत्केरी अघि र पछि गरी पोषिलो खानेकुरा, भिटामिन तथा आमा बच्चालाई तत्कालिन अवस्थामा आवश्यक पर्ने सुत्केरी सामग्रीहरु प्रदान गर्नुका साथै पत्रकारिता क्षेत्रमा क्रियाशील महिलाहरुलाई सुत्केरी अवस्थामा राहत दिने अपेक्षा महासंघले लिएको छ ।

कार्यक्रममा नगर प्रमुख लामाले महिला पत्रकारहरुको प्रजनन स्वास्थ्य र सुरक्षित सुत्केरीका लागि महासंघले यस्तो कोष स्थापना गर्नु निकै प्रशंसनीय कार्य भएको बताउनुभयो । उहाँले उपमहानगरपालिका महिलाको विषयमा निकै संवेदनशील रहेको र महिला हक, अधिकार र प्रोत्साहनका लागि सदैव तयार रहेको बताउनुभयो । कोषले महिला पत्रकारहरूको स्वास्थ्य सुरक्षामा महत्वपूर्ण योगदान पु¥याउने उहाँले विश्वास व्यक्त गर्नुभयो । नगर प्रमुख लामाले हेटौँडा उपमहानगरपालिकाको तर्फबाट कोषमा ५ लाख रुपैयाँ र आफ्नो व्यक्तिगत तर्फबाट १० हजार रुपैयाँ सहयोग गर्ने घोषणा गर्नुभयो ।

कार्यक्रममा उपप्रमुख राजेश बानियाँले महिला पत्रकारसहित संचारकर्मीहरुको क्षमता विकासका लागि कोष सञ्चालन उत्कृष्ट कार्य भएको बताउनुभयो । राज्यले महिलालाई प्राथमिकतामा राखेर काम गरिरहेको सन्दर्भमा उपमहानगरपालिकाले महिलाका विषयमा सहयोग गर्न सधैं तयार रहेको उहाँले बताउनुभयो । उपप्रमुख बानियाँले व्यक्तिगत तर्फबाट कोषमा १० हजार रुपैयाँ सहयोग गर्ने घोषणा समेत गर्नुभयो ।

त्यसैगरी, महासंघ मकवानपुरका अध्यक्ष बालकृष्ण अधिकारी र ब्रोडकास्टिङ एसोसिएसन अफ नेपालका वरिष्ट उपाध्यक्ष उज्ज्वल चौलागाईंले पनि कोषको प्रवद्र्धनका लागि १०/१० हजार रुपैयाँ सहयोगको घोषणा गर्नुभएको छ । कार्यक्रममा वरिष्ठ पत्रकार प्रताप विष्टले २ हजार र पत्रकार महासंघ बागमती प्रदेशका निवर्तमान उपाध्यक्ष सम्झना कार्कीले २ हजार रुपैयाँ कोषमा सहयोग गर्ने घोषणा गर्नुभयो । यसका साथै महासंघ मकवानपुर शाखाको कार्यसमितिको तर्फबाट ११ हजार रुपैयाँ कोषमा जम्मा भएको छ ।