हेटौँडा : मकवानपुरकी प्रमुख जिल्ला अधिकारी (प्रजिअ) स्किम श्रेष्ठले जिल्लास्थित सरकारी कार्यालयका प्रमुखहरुलाई पारदर्शी भएर काम गर्न निर्देशन दिनुभएको छ । राष्ट्रिय सूचना दिवसको अवसरमा मंगलबार प्रशासन कार्यालयको सभाकक्षमा जिल्लास्थित कार्यालय प्रमुख तथा सूचना अधिकारीको सहभागिता रहेको कार्यक्रममा प्रजिअ श्रेष्ठले जनताको सेवामा भए गरेका कामका विषयमा नियमितरुपमा कार्यालयकै तर्फबाट सूचना प्रवाह गर्न निर्देशन दिनुभयो ।
पारदर्शिताले जवाफदेहीता तथा सुशासन प्रवद्र्धन हुनुका साथै लोकतन्त्रलाई सबलीकरण गर्दै लैजाने उहाँले विश्वास व्यक्त गर्नुभयो । ‘कार्यालयका कामबारवाहीका विषयमा आम नागरिकलाई जानकारी दिनु कर्मचारी प्रशासनको जिम्मेवारी हो । जनताको सेवामा भए, गरेका कामका बारेमा आवधिकरुपमा प्रगति प्रतिवेदन सार्वजनिक गर्नुहोला’, प्रमुख जिल्ला अधिकारी श्रेष्ठले भन्नुभयो, ‘सूचना प्रवाह गर्दै गर्दा कार्यालयको पारदर्शिता, जवाफदेहिता देखिने र जनविश्वास बढ्ने अवस्था रहन्छ । यसले समग्रमा लोकतन्त्रलाई सवल बताउँछ ।’
‘सूचनाको हक ः अवसर र चुनौति’ शीर्षकमा सहायक प्रमुख जिल्ला अधिकारी राजेन्द्र प्रसाद कँडेलले कार्यपत्र प्रस्तुत गर्नुभएको थियो । सहायक प्रजिअ कँडेलले सूचनाको हक सम्बन्धमा भएको व्यवस्था, सूचनाको हकको कार्यान्वयनबाट हुने लाभ र कार्यान्वयनका चुनौतिका विषयमा प्रस्तुती राख्नुभएको थियो । कार्यपत्र प्रस्तुतीपछि कार्यालय प्रमुख तथा सूचना अधिकारी सँगै सञ्चारकर्मीले छलफलमा भाग लिएका थिए । कार्यालय प्रमुख तथा सूचना अधिकारीहरुले सूचना माग गर्दै गर्दा सूचना माग्ने व्यक्तिले दुख दिने नियत मात्रै राख्ने गरेको उल्लेख गर्नुभयो । यस्तै सञ्चारकर्मीले सूचनाको हकले माग्नेलाई सूचना दिने मात्रै नभई सार्वजनिक सरोकारका सूचनालाई कार्यालयले नै सार्वजनिक गर्नुपर्नेमा जोड दिएका थिए ।
