पहिरो पन्छाउने कार्य गरिँदै ।

हेटौँडा : हेटौँडा–काठमाडौं जोड्ने छोटो दुरीको सडक भीमफेदी कुलेखानी सिस्नेरी दक्षिणकाली सडक २४ घण्टादेखि अवरुद्ध छ । शनिबार बिहान ९ बजे खसेको सुख्खा पहिरोका कारण प्रदेश सरकारले निर्माण गरिरहेको सिस्नेरी सडक अवरुद्ध भएको २४ घण्टासम्म पनि खुलाउन नसकिएको हो । सडकमा खसेको पहिरो पन्छाने कार्य जारी रहेको र सवारी साधन आउजाउका लागि डाइभर्सन बनाइएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ । आइतबार बिहान साढे १० बजेबाट डाइभर्सनमार्फत सवारी साधन आउजाउ गर्न थालेको प्रहरीले जनाएको छ ।

मकवानपुरको इन्द्रसरोवर गाउँपालिका–३ ज्यामिरेमा शनिबार बिहान साढे ९ बजे सुक्खा पहिरो खसेको थियो । पहिरो खसेर सडक अवरुद्ध भएको केही समयमा नै प्रदेशको भौतिक पूर्वाधार विकास मन्त्रालयले जेसिवी र एक्साभेटर प्रयोग गरेर सडक खुलाउन प्रयास भएपनि निरन्तर रुपमा पहिरो खसेकाले समस्या भएको थियो । मन्त्रालय अन्तर्गतको प्रदेश राजधानी पूर्वाधार विशेष आयोजना हेटौँडा मार्फत् सडक खुलाउन मेसिनहरु प्रयोग गरिएको छ । आयोजनाले आइतबार साँझसम्ममा सडक संचालनमा ल्याउने गरी पहिरो हटाउने काम गरिरहेको जनाएको छ ।

आयोजनाका प्रमुख देवनारायण यादवका अनुसार शनिबार नै बाटो खुलाउने प्रयास गरिएपनि पहिरो खस्न नरोकिएपछि साँझ ६ बजेपछि काम रोकिएको थियो । आइतबार साँझसम्म सडक खुलाउने गरी मन्त्रालयसँगको समन्वयमा पहिरो हटाउने कार्य भइरहेको उहाँले बताउनुभयो । सो स्थानको पहिरो हटाउन हाल ३ वटा मेसिनहरु प्रयोग गरिएको छ ।

पहिरो पन्छाउने काममा एक्साभेटर, जेसिवी र लोडर एक÷एक वटा प्रयोग गरिएको छ । बिहानैबाट पहिरो हटाउने काम थाले पनि पहिरो ठूलो र सडकको माथिबाट ढुंगा माटो खस्नेक्रम जारी रहेकाले कठिन भएको आयोजना प्रमुख यादवले बताउनुभयो । पहिरो पन्छाउने काममा प्रयोग गरिएको लोडर समेत पहिरोले पुरिएको उहाँले जानकारी दिनुभयो । आइतबार बिहान साढे ९ बजेको समयमा पहिरो पन्छाउँदै गरेको अवस्थामा माथिबाट खसेको माटोले लोडर पुरिएको प्रमुख यादवले बताउनुभयो ।

एक्साभेटर र जेसिवीले दुईतर्फबाट बाटो खुलाउन पहिरो हटाउने काम भइरहेको र दिनभरमा सक्ने लक्ष्यका साथ अघि बढेको उहाँको भनाइ छ । उक्त स्थान साँघुरो र जोखिमयुक्त रहेकाले मेसिनहरु थप गर्ने अवस्था नरहेको यादवले जानकारी दिनुभयो । सो सडक प्रदेश सरकारले प्रादेशिक सडक गुरुयोजना अन्तर्गत राखेर राजधानी मार्ग नामाकरण गरी निर्माण गरिरहेको छ । सो सडकको काठमाडौं तर्फको केही भाग कालोपत्रे गर्न बाँकी रहेको छ । उक्त सडक पहिरोका कारण बन्द भएकाले हेटौंडा–काठमाडौं यात्राका लागि छोटो दुरीको कुलेखानी फाखेल हुमाने फर्पिङ सडक प्रयोग गर्न मन्त्रालयले आग्रह गरेको छ ।