हेटौँडा : मकवानपुरको कैलाश गाउँपालिकास्तरीय खानेपानी, सरसफाई तथा स्वच्छता समन्वय समितिको अर्धवार्षिक समीक्षाका साथै दीगो खानेपानी, सरसफाई तथा स्वच्छता प्रणालीका आधार स्तम्भहरुको विश्लेषण कार्यशाला गोष्ठी शुक्रबार सम्पन्न भएको छ । गाउँपालिकाका अध्यक्ष लोकबहादुर मुक्तानको अध्यक्षतामा भएको कार्यशाला गोष्ठीमा ग्रामीण पुनर्निर्माण संस्था (आरआरएन)का जिल्ला संयोजक लीलबहादुर कार्कीले कैलाश गाउँपालिकामा भए, गरेका क्रियाकलापबारे आफ्नो कार्यपत्र प्रस्तुत गर्नुभएको थियो । त्यस्तै आरआरएनका कार्यक्रम व्यवस्थापक निराजन पोख्रेलले दीगो खानेपानी सरसफाई तथा स्वच्छता प्रणालीका नौ वटा आधार स्तम्भहरुबारे कार्यपत्र प्रस्तुतीसँगै छलफल गरिएको थियो ।

कार्यक्रममा गाउँपालिका अध्यक्ष मुक्तानले भौगोलिक विकटताको चुनौतिका साथ खानेपानी, सरसफाई तथा स्वच्छताको क्षेत्रमा काम गरेकोमा धन्यवाद व्यक्त गर्नुभयो । सचेतना अभिवृद्धिसहित योजना तथा कार्यक्रम सञ्चालनले एक घर एक धाराका साथै शौचालय निर्माणले धेरै नागरिकलाई सहजता पुगेको अध्यक्ष मुक्तानले दावी गर्नुभयो । गाउँपालिकाले १३ भन्दा बढी संस्थासँगको साझेदारीमा स्वास्थ्य, शिक्षा, खानेपानी, महिला तथा बालबालिकाको क्षेत्रमा काम गर्ने सम्झौता भएको उहाँले बताउनुभयो ।

कार्यक्रममा गाउँपालिका उपाध्यक्ष बालकुमार मल्लले गाउँपालिकाले लक्ष्य अनुसार एक घर एक धारा सबै स्थानमा पुर्‍याउन नसकिएको बताउनुभयो । गैसससँगको साझेदारीमा क्रमिक रुपमा विस्तार भइरहेको उहाँको भनाइ छ । खानेपानी र सरसफाईका क्षेत्रमा पालिकाले सहकार्य र समन्वय गरी अघि बढ्ने उल्लेख गर्नुहुँदै उहाँले पालिकाले अभिभावकको भूमिका खेल्दै आगामी दिनमा समूदायमा खानेपानी, सरसफाई र शौचालय निर्माणको कार्यमा सहकार्य रहने बताउनुभयो ।

कैलाश गाउँपालिकामा आरआरएनले १०७ वटा समूह र दुई हजार तीन सय घरधुरीमा २३ वटा सूचकमा क्रियाकलाप सञ्चालन गरिएको जनाएको छ । जसमा भाँडा सुकाउने मचान ७७.१५ प्रतिशत, हातधुने ठाउँ ७५.८४ प्रतिशत, पानी फिल्टर प्रयोग २६.९६ प्रतिशत, शौचालय सफा भएको ७८.८७ प्रतिशत, गोठ व्यवस्थापन ७९.१६ प्रतिशत, खेर जाने पानीको सुरक्षित ७७.४६ प्रतिशत, कुहिने र नकुहिने फोहोर व्यवस्थापन ७६.९३ प्रतिशत, घरआँगन सफा रहेको ८१.२१ प्रतिशत तथ्याङ्कमा रहेको छ ।

हामीले गरेका क्रियाकलाप पश्चात विभिन्न उपलब्धी मध्ये, गाउँपालिकाले शौचालय परिचयपत्र जारी र वितरण, गुरुयोजना बनाई निर्माण, अनुमोदन र कार्यान्वयन, खानेपानी तथा सरसफाई ऐन २०८१, जारी भएको, वास प्लान निर्माणले गर्दा यस क्षेत्रमा काम गर्न सहयोगी संस्थाको आगमन, ६८२ घरधुरीमा मिटर सहितको एक घर एक धारा निर्माणले गर्दा सुरक्षित खानेपानीको सेवामा पहुँच भएको, १६४ घरधुरीले स्वलगानीमा शौचालय निर्माण गरी प्रयोग भइरहनु संस्थाको उपलब्धी भएको संयोजक कार्कीले बताउनुभयो ।