मुख्यमन्त्री इन्द्रबहादुर बानियाँ ।

नेपाली कांग्रेस बागमती प्रदेशभित्र पछिल्लो पटक निकै अन्तरसंघर्ष चलेको छ । जसका कारण बागमती प्रदेशका मुख्यमन्त्री इन्द्रबहादुर बानियाँले एकल ढंगले मन्त्रिपरिषद् विस्तार गर्नुभएको आरोप लाग्दै आएको छ । मुख्यमन्त्री बानियाँले कांग्रेसका १४ जना प्रदेशसभा सदस्यलाई बेवास्ता गर्नुभएको भन्दै असन्तुष्टि देखिएको छ । निवर्तमान मुख्यमन्त्री बहादुर सिंह लामा निकटमा १४ जना प्रदेशसभा सदस्यसँगको पूर्वसहमति समेत बेवास्ता गरिएको उनीहरुको आरोप छ । सोही क्रममा प्रदेशको १४ मन्त्रालयमध्ये काँग्रेसको भागमा परेको ७ मन्त्रालयमा आफू निकटका प्रदेशसभा सदस्यलाई मन्त्री बनाएको उनीहरुको आरोप छ ।

उक्त आरोपलाई मुख्यमन्त्री इन्द्रबहादुर बानियाँले भने खण्डन गर्नुभएको छ । शुक्रबार मन्त्रिपरिषद् विस्तार गर्दै सरकारलाई पूर्णता दिनुभएका मुख्यमन्त्री बानियाँले आफूले अधिकतम समावेशी ढंगले निर्णय गरेको दावी गर्नुभएको छ । उहाँले आफ्नो पक्षका प्रदेशसभा सदस्यहरुलाई मात्र मन्त्री बनाएको आरोप अस्वीकार गर्नुहुँदै ३७ जना प्रदेशसभा सदस्यमध्ये सबै समुदाय, लिंग र क्षेत्रलाई समेट्ने प्रयास गरिएको बताउनुभयो । १४ जना प्रदेशसभा सदस्यहरूको असन्तुष्टिबारे उहाँले कांग्रेसभित्र असन्तुष्टि नभई संवाद भएको दावी गनुभयो ।

‘हामीकहाँ एजेन्डा र नेतृत्वको प्रतिस्पर्धा हुन्छ । तर असन्तुष्टि भन्ने हुँदैन ।’ मुख्यमन्त्री बानियाँले भन्नुभयो, ‘पहिला इन्द्रबहादुर पक्षमा १६ जना थिए, अहिले बहादुर पक्षमा १४ जना छन् । हामी ३७ जना एउटै कांग्रेस हौं । गन्ने खेल होइन । लोकतन्त्रमा सत्ता आउँछ–जान्छ । सत्ताभन्दा जनताको काम महत्वपूर्ण हो ।’ यसैसन्दर्भमा समृद्ध समाज दैनिकका लागि संवाददाता गणेश दूलालले मुख्यमन्त्री इन्द्रबहादुर बानियाँसँग गर्नुभएको कुराकानीको सम्पादित अंश :

समाज : प्रदेशसभा सदस्यभित्रकै विवाद हुँदाहुँदै पनि आफ्नै निकटको मात्रै मन्त्री नियुक्त गर्नुभयो नि ?
बानियाँ :
मेरो संसदीय दल, नेपाली कांग्रेसका ३७ जना प्रदेशसभा सदस्य मध्ये सबै योग्य साथीहरुबाट मैले मन्त्री नियुक्त गरेको हुँ । मैले मन्त्रिमण्डललाई अधिकतम समावेशी बनाएको छु । जसमा दुई महिला, दुई तामाङ (जनजाति) र दुई नेवार समुदायका साथीहरु हुनुहुन्छ । त्यसैगरी, क्षेत्री लगायत सबै किसिम वर्ग र समुदायलाई समेटेको छु । सन्तुलन अधिकतम प्रयास गरेको छु । केही कुराहरुलाई आगामी दिनमा, परिस्थितिअनुसार आलोपालो गर्दै जाँदा साथीहरुको पनि समय आउँछ ।

यो राजनीति हो । अनुकुलतामा काम हुँदै जान्छ । अहिले म ३७ जनाकै संसदीय दलको नेताको हैसियतले सबैको अभिभावक हुँ । नेतृत्व हुँ । त्यही नेतृत्वअनुसार मैले समुदाय, वर्ग र महिलासहित सबैलाई व्यवस्थापन गरेको छु । यसमा यो पक्ष वा त्यो पक्ष भन्ने हुँदैन । कांग्रेस एउटै पक्ष हो । दल एउटै हो । त्यहाँभित्रका साथीहरु मध्येबाटै अहिले ७ जना मन्त्री हुनुभएको छ ।

समाज : कांग्रेसका १४ जना प्रदेशसभा सदस्यको असन्तुष्टिको विषयलाई चाहिँ कसरी सम्बोधन गर्नुहुन्छ त ?
बानियाँ :
तपाईं सञ्चारकर्मीहरूले कांग्रेसलाई बुझ्नुपर्छ । कांग्रेसभित्र असन्तुष्टि भन्ने हुँदैन । संवाद हुन्छ । एक–अर्काको बीचमा आ–आफ्नो एजेन्डा, कुरा र नेतृत्वलाई कसीमा राख्ने विषयमा विचार–समूह बन्छन् र प्रतिस्पर्धा हुन्छ । तर हाम्रोमा त्यस्तो (असन्तुष्टि) केही पनि छैन ।

समाज : विश्वासको मत लिने बखत र दलको नेताको निर्वाचनको समयमा बहादुर सिंह लामा पक्षका प्रदेशसभा सदस्यसँग भएका माग तथा उहाँहरुलाई कसरी अगाडि लिएर बढ्नुहुन्छ ?
बानियाँ :
पहिला इन्द्रबहादुर बानियाँ पक्षमा १६ जना हुँदा उहाँ कसरी अगाडि बढ्नुभयो भनेर सोध्नुभएको छ ? हामी सबै एउटै पक्ष हौं । पहिला इन्द्रबहादुर पक्षमा १६ जना थिए । अहिले बहादुर पक्षमा १४ जना हुनुहुन्छ । त्यो १४ वा १६ भनेर अल्झिने होइन । हामी सबै मिलाएर ३७ जना नै कांग्रेस हौं । विगतमा पनि १६ र २१ जनाको समूह थियो । मैले केही भनेँ र ! उहाँ सरकारको नेतृत्व गरेर अघि बढ्नुभयो । म मेरो जिम्मेवारीमा रहेँ । त्यसकारण हिजोको दिनमा मन्त्रिमण्डल किन यस्तो भयो भनेर मैले कहिल्यै भनिनँ । सबैको राजनीति गर्ने आ–आफ्नो स्वभाव र चरित्र हुन्छ ।

समाज : तपाईंसँग बहादुर समूह पनि रुष्ट छ । विगतमा जस्तै बहादुर पक्षका प्रदेशसभा सदस्यहरुको तपाईंप्रति असन्तुष्टि देखियो । तपाईंले जसरी सत्ता पल्टाउनुभयो । सोही नतिजा नआउला भन्न सकिन्छ ? उहाँहरुले पनि पल्टाउन सक्नुहुन्न र ?
बानियाँ :
लोकतन्त्रमा सत्ता पल्टाउने–उल्टाउने भइरहन्छ । हिजो पनि दुईवटा गुट जस्तै थियो । इन्द्रबहादुरको एउटा पक्ष, बहादुरको अर्को पक्ष । दुवै पक्ष एक भएर हिजो सरकार चल्यो । बहादुर जी अर्थमन्त्री, मुख्यमन्त्री हुनुभयो, मन्त्रिमण्डल बनाउनुभयो । त्यो बेला इन्द्रबहादुरले मिडियामा कहिल्यै केही बोलेको देख्नुभएको थियो र ?

कांग्रेस एक ढिक्का हुनुपर्छ भन्ने विचारले मैले पार्टी सभापतिको हैसियतले हिजो बहादुरजीले गरेको कामलाई स्वीकारेँ । संसदीय दलको नेताले गरेको निर्णयमा मेरो ‘नो अब्जेक्सन लेटर’ जस्तै थियो । उहाँले गरेको ठीक हो भनेरै अघि बढेका थियौं । पछि साथीहरुले अहिले अलि बेठीक चल्यो कि भनेर निर्णय लिनुभयो । मलाई ठीक ठानेर मुख्यमन्त्री बनाउनुभयो । अब भविष्यमा के हुन्छ, त्यो भविष्यले नै देखाउला ।

समाज : सत्ता उल्टो–पुल्टो त भइरहन्छ भन्नुभयो, अब यो सरकार कति दिन टिक्छ त ?
बानियाँ :
हाम्रो काम जनताको राम्रो गर्ने हो । सत्ताको बारेमा बढी चिन्ता नगर्दा हुन्छ । सरकारले जनताको राम्रो काम गरेको छ कि छैन । त्यो हेर्नुस् । यो लोकतन्त्र हो । राणा वा राजाको शासन होइन । जनताको पक्षमा काम गर्न आएका हौं । त्यही अनुसार नतिजा दिन तत्पर छौं ।