प्रदेश प्रहरी कार्यालयमा प्रहरीको आँखा जाँच गरिँदै ।

हेटौँडा : हेटौँडास्थित बागमती प्रदेश प्रहरी कार्यालयमा कार्यरत प्रहरी कर्मचारीको आँखा जाँच कार्यक्रम आयोजना गरिएको छ । बागमती प्रदेश प्रहरी कार्यालयको आयोजना तथा हेटौँडा सामुदायिक आंखा अस्पतालको प्राविधिक सहयोगमा शुक्रबार आयोजित कार्यक्रममा १ सय ६० जना प्रहरी कर्मचारीहरुको आँखा जाँच गरिएको थियो ।

जाँच गरिएकाहरु मध्ये २० जनाको आँखाको थप उपचारका लागि हेटौँडा सामुदायिक आँखा अस्पतालमा जानका लागि सल्लाह दिइएको छ । कार्यक्रममा आँखा जाँच पश्चात आवश्यक औषधिहरु पनि निशुल्क वितरण गरिएको थियो । हेटौँडा सामुदायिक आँखा अस्पतालले नियमित रुपमा सामुदायिक कार्यक्रम अन्तर्गत अस्पताल आउन नसक्ने विरामीहरुका लागि विभिन्न स्थानमा पुगेर आँखा जाँच कार्यक्रम गर्दै आएको छ । विद्यालयमा पुगेर विद्यार्थीहरुको आँखा जाँच र कार्यस्थलमा पुगेर कामदार कर्मचारीहरुको आँखा जाँच कार्यक्रम पनि अस्पतालले सञ्चालन गर्दै आएको छ ।