हेटौडा : श्रीकृष्ण जन्माष्टमी पर्व एक महिनासम्म विविध कार्यक्रम गरी मनाइँदै छ । आगामी शनिबार रहेको श्रीकृष्ण जन्माष्टमी पर्वलाई लक्षित गर्दै हेटौंडा–४ स्थित अक्षरातित धाम तथा कृष्ण प्रणामी युवा परिषद् नेपाल प्रारम्भिक समितिले विभिन्न सामाजिक तथा धार्मिक कार्यक्रमहरु गरेको छ ।
श्रीकृष्ण प्रणामी युवा परिषद्ले प्रत्येक वर्ष श्रावण महिनामा आयोजना हुने सामाजिक तथा धार्मिक कार्यक्रम यसवर्ष साप्ताहिक नभई महिनाव्यापी सञ्चालन गरेको छ । परिषद्ले यसवर्ष ७ वटा वृहत् धार्मिक तथा सामाजिक कार्यक्रम गरेको छ ।
कार्यक्रमको पहिलो दिन गत साउन १० गते श्रीकृष्ण प्रणामी मन्दिर (अक्षरातित धाम) परिसरमा दन्तशिविर तथा रक्तदान कार्यक्रम गरेको थियो । राप्ती डेन्टल क्लिनिक र नेपाल रेडक्रस सोसाइटीको सहकार्यमा आयोजित कार्यक्रममा ५० जनाले सेवा लिएका थिए भने ३० जनाले रक्तदान गरेका थिए ।
गत साउन २० गते त्रिवेणी धाम, हेटौंडा–९ मा तुलसी रोपण तथा ‘मुक्ति मञ्जरी’ उद्घाटन गरेको छ । यस्तै, साउन २२ गते हेटौंडा–१० स्थित संस्कृत वेद विद्यालयमा खाद्यान्न, स्टेशनरी सामग्री तथा सिलिङ फ्यान वितरण गरेको थियो ।
चौथो कार्यक्रमको रुपमा मंगलबार श्रीकृष्ण प्रणामी मन्दिर परिसरमा बालबालिकाबीच खुला धार्मिक वक्तृत्वकला प्रतियोगिता आयोजना गरेको थियो । आज शुक्रबार लक्षदीप (लाख बत्ती) प्रज्वलन, शनिबार मट्का फुटाउने तथा सोही दिन बेलुकी सम्मान तथा समापन कार्यक्रम हुनेछ । श्रीकृष्ण जन्माष्टमीको दिन बिहानदेखि साँझसम्म झाँकीसहितको ¥याली तथा विविध धार्मिक कार्यक्रम हुने बताइएको छ ।







