वार्षिक समीक्षा कार्यक्रमलाई सम्बोधन गर्नुहुँदै गाउँपालिका अध्यक्ष लोकबहादुर मुक्तान ।

हेटौँडा : मकवानपुरको कैलाश गाउँपालिकाले गत आर्थिक वर्ष २०८१/०८२ को वार्षिक समीक्षा गरेको छ । मंगलबार गाउँपालिकाको सभाहलमा सम्पन्न समीक्षा कार्यक्रममा गाउँपालिकाले ७९.६९ प्रतिशत पुँजीगत खर्च गरेको, चालुतर्फ ८२.४९ प्रतिशत खर्च गरेको विवरण सार्वजनिक गरेको छ ।

५१ करोड ६६ लाख ४० हजार रुपैयाँ मध्ये ८१.४७ प्रतिशत रकम खर्च भएको आर्थिक प्रशासन प्रमुख नवीन धितालले बताउनुभयो । उहाँका अनुसार संघीय कार्यक्रमबाट प्राप्त सशर्त, समानीकरण, समपूरक र राजश्व बाँडफाँडबाट प्राप्त हुने रकममा ८६.५८ प्रतिशत खर्च भएको छ । त्यस्तै प्रदेश कार्यक्रमबाट प्राप्त भएका विभिन्न अनुदान रकममध्ये ९४.२९ प्रतिशत खर्च भएको प्रमुख धितालले बताउनुभयो ।

कैलाशका १० वटा वडामध्ये वडागत कार्यक्रम र खर्च प्रगतिमा वडा नम्बर १ ले ६८.४७ प्रतिशत, वडा २ ले ८५.२६ प्रतिशत, वडा ३ ले ७८.९९ प्रतिशत, वडा ४ ले ९१.१२ प्रतिशत, वडा ५ ले ९०.३९ प्रतिशत, वडा ६ ले ७९ प्रतिशत, वडा ७ ले ७४.८४ प्रतिशत, वडा ८ ले ८२.३५ प्रतिशत, वडा ९ ले ६९.८८ प्रतिशत र वडा १० ले ९६.६१ प्रतिशत खर्च गरेको बताइएको छ । कैलाशको क्षेत्रगत खर्च प्रगतिमा आर्थिक विकासतर्फ ७१.८८ प्रतिशत, सामाजिक विकासतर्फ ८५.८५ प्रतिशत, पूर्वाधार विकासतर्फ ७५.७५ प्रतिशत, सूचना तथा अन्तरसम्बन्धित क्षेत्रमा ७९.४१ प्रतिशत, कार्यालय तथा प्रशासनिकतर्फ ७८.३४ प्रतिशत रहेको उहाँले बताउनुभयो । क्षेत्रगतको कूल रकममा ८१.३३ प्रतिशत खर्च भएको छ ।

गाउँपालिकाका अध्यक्ष लोकबहादुर मुक्तानको अध्यक्षतामा भएको समीक्षा कार्यक्रममा पालिकाका शाखागत प्रमुखहरुले आर्थिक वर्ष २०८१/०८२ मा भएका कामका प्रगति, समस्या र चुनौति प्रस्तुत गरिनुका साथै वडागत सचिवहरुले वडामा भएका राजश्व संकलनदेखि व्यक्तिगत घटनादर्ता र योजनाको प्रगतिको कार्यपत्र प्रस्तुत गर्नुभएको थियो ।

कार्यक्रमलाई सम्बोधन गर्नुहुँदै गाउँपालिका अध्यक्ष मुक्तानले जनप्रतिनिधि र कर्मचारीबीचको समन्वयकारी भूमिकाले आर्थिक वर्ष २०८१/०८२ मा विभिन्न सूचकहरु पूरा गर्न सफल भएको बताउनुभयो । आफ्नो लगनशीलता र अथक मिहिनेतका साथ चालु आर्थिक वर्षमा पनि सहकार्य र समन्वय रहनका लागि उहाँले आग्रह गर्नुभएको छ । गाउँसभाबाट निर्माण भएका कार्यक्रम र योजनालाई जेठ महिनाभित्र नै सम्पन्न गर्न सम्बन्धित शाखालाई निर्देशन दिनुहुँदै अध्यक्ष मुक्तानले भन्नुभयो, ‘समयमै काम सक्ने अठोट लिनुस् । कैलाशमा स्वास्थ्य र शिक्षाको पहुँच विस्तार हुँदै गएको अवस्थामा गाउँपालिकाले थप योजनाका साथ अघि बढ्ने बताउनुभयोे ।

कार्यक्रममा गाउँपालिकाका उपाध्यक्ष बालकुमार मल्लले कर्मचारीको साथले गाउँपालिकाको विभिन्न क्षेत्रमा विकासले फड्को मारेको बताउनुभयो । आवश्यक साथ र समन्वयका साथ आगामी वर्षहरुमा पनि सहकार्य गरी अघि बढ्ने उहाँले प्रतिवद्धता जनाउनुभएकोे छ । गाउँपालिकाले बजेट कार्यान्वयनमा जति प्रगति गरेको छ आगामी दिनहरुमा पनि अझै वृद्धिका साथ प्रगति गरिनुपर्नेमा उपाध्यक्ष मल्लले जोड दिनुभयो ।