कार्यक्रमको क्रममा खिचिएको तस्वीर ।

हेटौंडा : हेटौंडा–५ स्थित शहीद आकाश मेमोरियल क्याम्पसमा एक दिवसीय टेकनोभा फेस्ट २०८२ सम्पन्न भएको छ । क्याम्पस टेक क्लबको आयोजनामा बुधबार कार्यक्रम भएको हो ।
कार्यक्रममा इन्फरमेसन टेक्नोलोजी (आईटी) र कृतिम बुद्धिमत्ता (एआई) सम्बन्धी विषयमा प्रस्तुति दिइएको थियो । कार्यक्रमका प्रमुख अतिथि हेटौंडा उपमहानगरपालिकाका प्रमुख मीनाकुमारी लामाले अबको समयमा युवाहरुले आईटी र एआईमार्फत तय गरेको नयाँ खोज तथा योजनालाई स्थानीय सरकारले कार्यक्रममा समावेश गरेमात्र समयसापेक्ष विकास गर्न सकिने बताउनुभयो । उहाँले नयाँ जेनेरेसनका युवाहरुले नै आधुनिक विकासको बाटोमा लैजाने भन्दै यी युवाहरु विदेश गएर सिके पनि काम नेपालमै गर्नुपर्नेमा जोड दिनुभयो ।

हेटौंडा स्कूल अफ म्यानेजमेन्टका सञ्चालक पुरनबहादुर जोशीले युवाहरुलाई आँट गरेर मेहनत गरे अवश्य सफल हुने प्रेरणामूलक सन्देशसहितको मन्तव्य राख्नुभएको थियो । उहाँले सिपसँगै शिक्षा पनि अघि बढाउनुपर्ने बताउनुभयो । कार्यक्रमका अन्य सहभागीहरुले युवाहरुले आईटीको क्षेत्रबाट स्वदेशमै बसेर विदेशी मुद्रा आर्जन गर्न सकिने बताउँदै हाल नेपालमा वैदेशिक रोजगारीबाट मात्र नभएर आईटीबाट पनि रेमिट्यान्स भित्रिरहेको बताएका छन् ।

यस्तै, कार्यक्रममा उपस्थित विद्यार्थीहरुका लागि सप्mटवेयर इन्जिनियर स्वारेज पाण्डे तथा अन्तर्राष्ट्रिय आईटी विज्ञ विजय गौतमले एआईसम्बन्धी प्रशिक्षण दिनुभएको छ । क्याम्पसका टेक क्लब अध्यक्ष महेश मोक्तानको सभाध्यक्षतामा भएको कार्यक्रममा शहीद एकानाथ सुवेदी आकाश स्मृति प्रतिष्ठानका सल्लाहकार कृष्णकुमारी सुवेदी, क्याम्पस सञ्चालक समितिका अध्यक्ष विजय गौतम, क्याम्पस प्रमुख दिनेशकुमार सुवेदी, क्याम्पसका बिआईटी तथा बिबिए संकायका प्रमुखहरु, विद्यार्थीहरुको उपस्थिति थियो ।