हेटौँडा : बागमती प्रदेशका मुख्यमन्त्री इन्द्रबहादुर बानियाँले मन्त्रालय र सरकारी निकायको सार्वजनिक खर्च कटौति गर्न निर्देशन दिनुभएको छ । उहाँले मन्त्रालय र निकायमा हुने अनावश्यक खर्च नियन्त्रण गरेर आर्थिक सुशासन कायम गर्न निर्देशन दिनुभएको हो ।

प्रदेशका मन्त्रालयका सचिवहरूको बुधबार सम्पन्न बैठकमा मुख्यमन्त्री बानियाँले मन्त्रालय सञ्चालनमा दक्षता, पारदर्शिता र समयमै सेवा वितरणलाई मुख्य एजेन्डा बनाइएर काम गर्नुपर्ने बताउनुभयो । बैठकले कामको गुणस्तर सुधारका लागि कसैले काम नगरी तलब खाने प्रथा अन्त्य गर्ने र कर्मचारीको कार्यक्षमता वृद्धिमा जोड दिन आग्रह गर्नुभयो । सरकारका महत्वपूर्ण योजनाहरू समयमै सम्पन्न गर्ने, कार्यव्यवस्था र जिम्मेवारीमा ढिलाइ नगर्ने, र एकतावद्ध रुपमा कार्य सम्पादन गर्न उहाँले निर्देशन दिनुभयो ।

बैठक तथा संरचना सम्बन्धी प्रस्तावहरू समयमै तयार गर्ने, सरकारी साधनस्रोतको दुरुपयोगमा नियन्त्रण गर्ने, चाँडो नतिजा दिने र समयमै न्याय दिलाउने कार्यलाई प्राथमिकतामा राख्न उनको निर्देशन छ । ‘नीति–निर्णय–कार्यान्वयन’ लाई तीन स्तम्भ मानेर नीति स्पष्ट, निर्देशन छिटो र सेवा समयमै उपलब्ध गराउने प्रणालीलाई मजबुत बनाउनु पर्ने उहाँको भनाइ छ ।