हेटौँडा : बागमती प्रदेशको सत्ता साझेदार दल नेकपा एमालेका संसदीय दलका नेता जगन्नाथ थपलियाले सरकारका मुख्यमन्त्री इन्द्रबहादुर बानियाँलाई विश्वासको मत प्रदान गर्ने बताउनुभएको छ । उहाँले मुख्यमन्त्री बानियाँको पक्षमा मतदान गर्न आग्रह समेत गर्नुभएको छ ।
प्रदेशसभाको मंगलबार बसेको बैठकमा वर्तमान सरकारले जनताको अपेक्षा र जनचाहना अनुरुप कार्य गर्ने विश्वास व्यक्त गर्नुभयो । आम जनताको चाहना, भ्रष्ट्राचार नियन्त्रण गरी सुशासन कायम गर्न, प्रदेशको विकास निर्माण अभियानलाई तीव्रता दिने उहाँले विश्वास व्यक्त गर्नुभयो । राजनैतिक स्थिरताका लागि सहमतिको आधारमा प्रदेश सरकार निर्माण गर्ने उद्देश्य संविधानको रक्षाका लागि वर्तमान समीकरणमा निर्माण भएको उहाँको भनाई छ । बाढी–पहिरोको विपद्पछि सीमित स्रोत साधनमा पनि सरकारको उपस्थिति देखिएको उहाँले दावी दिनुभयो ।
पुनर्निर्माण र राहतमा सरकारले प्रतिबद्ध भएर कार्य गरेको उहाँले बताउनुभयो । सरकारले प्रदेशको प्रशासनिक केन्द्र निर्माणका लागि आवश्यक जग्गा प्राप्तिको प्रक्रिया अन्तिम चरणमा पुगेको र भाषा ऐन कार्यान्वयनमा प्रदेश सरकार अघि बढेको उहाँले जानकारी दिनुभयो । सुशासन, सामाजिक न्याय र आर्थिक समृद्धि दीर्घकालीन सोचसहितको प्रदेशको दोस्रो आवधिक योजना कार्यान्वयन, प्रदेश आयोजना बैंक व्यवस्थापन सूचना प्रणालीलाई कार्यान्वयनमा ल्याउन सरकारको प्रमुख उपलब्धीको रुपमा रहेको उहाँले बताउनुभयो ।
















