प्रदेशसभालाई सम्बोधन गर्नुहुँदै नेता शालिकराम जम्कट्टेल ।

हेटौँडा : बागमती प्रदेशसभाका प्रमुख प्रतिपक्षी दल माओवादी केन्द्रका नेता शालिकराम जम्कट्टेलले मुख्यमन्त्री इन्द्रबहादुर बानियाँको विश्वासको मत सम्बन्धी प्रस्तावको विपक्षमा रहेको बताउनुभएको छ । विद्यमान राजनीतिक अवस्थामा मुख्यमन्त्री बानियाँलाई विश्वासको मत दिने अवस्थामा नरहेको उहाँले बताउनुभयो ।

प्रदेशसभाको मंगलबार बसेको बैठकमा बोल्नुहुँदै नेता जम्कट्टेलले गठबन्धनको सरकार संविधान मिच्ने प्रक्रिया माथि हस्तक्षेप भएको बताउनुभयो । मुख्यमन्त्रीले नियुक्त गरेको मन्त्रीहरुको सपथ नगराएर प्रदेश प्रमुखले सिस्टम मिच्ने काम गरेको उहाँको भनाइ छ । उक्त कार्यमा प्रदेश प्रमुखको स्वास्थ्यको स्थिति मात्र नभएर राजनीतिक विषय हुन सक्ने उहाँले दावी गर्नुभयो ।

गठबन्धनको सरकार व्यवस्था विपरित भएर सिस्टम माथि हस्तक्षेप गरिरहेको उल्लेख गर्नुहुँदै उहाँले वर्तमान सरकार संविधानको मर्म र भावना अनुसार रहेको छ त ? भन्दै प्रश्न समेत गर्नुभयो । उहाँका अनुसार जनयुद्धको जगमा जनआन्दोलन भएको हो । एउटा पार्टीले नियमित सेना बनाएर आम नागरिकको हकहितका लागि जनयुद्ध सुरु गरेर वर्तमान व्यवस्था ल्याउन सफल भएको दावी गर्नुहुँदै नेता जम्कट्टेलले वर्तमान सरकारको गतिविधि प्रदेशको भावना र विचार भन्दन बेग्लै रहेको बताउनुभयो । सो अवस्थामा मुख्यमन्त्रीलाई काम गर्न निकै चुनौतिपूर्ण रहेको उहाँले जीकिर गर्नुभयो ।

सरकारका मन्त्री संविधान र कार्यक्षेत्र नहेरी दौडिएको आरोप लगाउनुहुँदै नेता जम्कट्टेलले भन्नुभयो, ‘सरकार मानोपोली ढंगबाट चलाउन होइन । सरकारलाई दिशा निर्देश गर्ने संविधान ऐन कानुन कार्यान्वयन गरेर नयाँ ढंगको काम गर्नुपर्ने हुन्छ ।’