हेटौँडा : हेटौँडा–९, पशुपतिनगरमा लहरी ट्रकको ठक्करबाट मोटरसाइकल चालक घाइते भएका छन् । सोमबार राती ११ बजेर ४५ मिनेटको समयमा पुर्व–पश्चिम सडक खण्डमा हेटौँडाबाट रातोमाटेतर्फ जाँदै गरेको मधेश प्रदेश ०३–००१ ख ९३५६ नम्बरको लहरी ट्रकले रातोमाटेबाट हेटौँडातर्फ आउँदै गरेको प्रदेश २–०३–०२१ प ६२८९ नम्बरको मोटरसाइकललाई ठक्कर दिँदा चालक घाइते भएको बागमती प्रदेश प्रहरी कार्यालय हेटौँडाले जानकारी दिएको छ ।

दुर्घटनामा मोटरसाइकल चालक बारा जिल्ला जितपुर सिमरा उपमहानगरपालिका–९, छातापिपरा बस्ने ३०वर्षीय पर्शुराम चौधरी मध्यम घाइते भएका छन् । घाइते चौधरीको हेटौँडा अस्पतालमा सामान्य उपचार पश्चात थप उपचारका लागि मंगलबार बिहान १ बजेर ५० मिनेटको समयमा काठमाडौंस्थित बि एण्ड बि अस्पताल लगिएको प्रहरीले जानकारी दिएको छ । लहरी ट्रक चालक चितवन जिल्लाको भरतपुर महानगरपालिका–८, सल्यानीका ३६ वर्षीय राजु विश्वकर्मालाई प्रहरीले नियन्त्रणमा लिएको छ ।