पछिल्लो समय नेपालमा सम्बन्धविच्छेद सामान्यजस्तै बन्दै गएको छ । पश्चिमी संस्कृतिमा सामान्य मानिने सम्बन्धविच्छेद हाम्रो पूर्वीय समाजमा पनि सामान्य मान्न थालिएको हो । पश्चिमी लागेको छ । हाम्रो धार्मिक, सांस्कृतिक र सामाजिक मूल्य मान्यताले वैवाहिक सम्बन्धविच्छेदलाई सहज मान्दैन । विवाह मण्डपमा धार्मिक विधि विधान पूरा गरेर सयौँ आफन्तबीच सँगै बाँच्ने बाचा गरेर जोडिएको सम्बन्ध टुट्नु सामान्य होइन । श्रीमान–श्रीमतीबीच आपसी सम्बन्ध र विश्वासमा आउने संकट नै सम्बन्धविच्छेदको मुख्य कारण हो । विवाहपछि सोचेजस्तो जीवन जिउन र स्वतन्त्र हुन नपाएपछि वैवाहिक सम्बन्धमा चिसोपन आउँदछ । पति–पत्नीबिच समझदारी नबनेपछि उनीहरु सम्बन्धविच्छेदजस्तो अप्रिय निर्णयमा पुग्दछन् । फलस्वरुप वैवाहिक जीवन असफल भएर सम्बन्धविच्छेद हुन पुग्दछ ।

२०७५ भदौ १ गतेदेखि लागू भएको देवानी संहिता (ऐन)ले सम्बन्धविच्छेदलाई सहज बनाएपछि सम्बन्धविच्छेदको मुद्दा बढ्दै गएको छ । जिल्ला अदालत मकवानपुरमा एक वर्षको अवधिमा एक हजार ४७ वटा सम्बन्धविच्छेदको मुद्दा दर्ता भएको छ । गत आर्थिक वर्ष २०८१/०८२ मा जिल्लामा अघिल्लो आर्थिक वर्षभन्दा २ सय ४० वटा बढी सम्बन्धविच्छेदका मुद्दा दर्ता भएका हुन् । अदालतमा दर्ता भएका मुद्दामध्ये ४० वटा सम्बन्धविच्छेदका मुद्दा पुरुषहरुले दायर गरेका छन् । वैवाहिक सम्बन्धमा रहेकाहरु सम्बन्धविच्छेद गर्ने अवस्थामा पुग्ने कारणमा बालविवाह, बहुविवाह, अनमेल÷अन्तरजातीय विवाह, प्रेमविवाह, असमझदारी, अपहेलना, कुलत, घरेलु हिंसा, परपुरुष वा महिलासँगको सम्बन्ध, गरिबी, सम्पत्ति, रोग, निःसन्तान, शंकालु भावना तथा वैदेशिक रोजगारी आदि छन् । संयुक्त परिवारमा बस्न नचाहने, नैतिक मूल्य र मान्यतामा ह्रास, सामाजिक सञ्जालको दुरुपयोग आदिले पनि सम्बन्धविच्छेद बढाउन मलजल गरिरहेको छ ।

महिलाहरु आत्मनिर्भर हुँदै गएकाले कुनै पनि हिंसा सहेर नबस्ने र स्वतन्त्र भएर बाँच्न खोज्ने कारणले सम्बन्धविच्छेदका मुद्दा बढ्दै गएको कानुन व्यवसायीको भनाइ छ । पछिल्लो समय महिलाहरु आर्थिकरुपले सशक्त बन्दै गएकाले श्रीमानबाट हुने शारीरिक, मानसिक तथा यौनजन्य हिंसाबाट मुक्त हुनका लागि सम्बन्धविच्छेदको बाटो रोज्ने गरेको देखिएको छ । धेरै कुराहरु हेरेर जोडिएको वैवाहिक सम्बन्ध बिग्रनु, टुट्नु र फाटो आउनु उचित होइन । विगतमा पुरुषबाट महिलाहरु पीडित हुँदासमेत आक्कलझुक्कल हुने सम्बन्धविच्छेद पछिल्लो सयम सामान्य बन्दै गएको छ । अहिले महिलाहरु धेरै कुराहरुमा सक्षम, आत्मनिर्भर, अधिकारसम्पन्न हुँदा सम्बन्ध झन् बलियो हुनुपर्नेमा सम्बन्धविच्छेद बढ्नुले राम्रो संकेत गर्दैन ।

वैवाहिक सम्बन्धमा आउने असमझदारी र वैमनष्यता बढेर सम्बन्धविच्छेदसम्म पुग्नुलाई सामान्य मान्न सकिँदैन । वैवाहिक सम्बन्ध कायम राख्नकै लागि कुनै पनि महिलाहरुले शारीरिक, मानसिक, सामाजिक हिंसा तथा विभेद खप्नुपर्छ भन्ने होइन । आफूलाई असहज हुने खालको सम्बन्धविच्छेद गर्ने कानुनी अधिकार सबैलाई छ । उक्त अधिकारको दुरुपयोग हुने अवस्थातर्फ भने सबै पक्ष सचेत हुनु आवश्यक छ । श्रीमान वा श्रीमतीले सम्बन्धविच्छेद माग्दै अदालतमा मुद्दा दायर गर्नासाथ एक–अर्काले सजिलै स्वीकार गरिदिँदा सम्बन्धविच्छेद पनि सहज बनिरहेको छ । श्रीमान–श्रीमतीले आपसी विश्वास र सम्मान कायम गर्दै वैवाहिक सम्बन्धलाई बलियो बनाउन सकेमा सम्बन्धविच्छेद कम हुन सक्नेतर्फ गम्भीर बन्नु उचित हुनेछ ।