गाईजात्राको क्रममा खिचिएको तस्वीर ।

हेटौंडा : नेवाः सांस्कृतिक पुचः को आयोजनामा हेटौंडामा आइतबार गाईजात्रा मनाइएको छ । हेटौंडा–२ को पुरानो मकवानपुर रोडस्थित कृष्ण मन्दिरबाट सुरु भएको गाईजात्रा संगमचोक, कान्तिराजपथ हुँदै बुद्धचोक, मेनरोड हुँदै भुटनदेवी मन्दिरमा गएर समापन भएको थियो ।

४२ जना मृतकका परिवारका सदस्यहरु गाईजात्रामा सहभागी भएको पुचःका अध्यक्ष सुनकुमार मानन्धरले बताउनुभयो । नेवार सम्प्रदायमा एक वर्षभित्र मृत्यु भएकाको परिवारबाट बालबालिकाहरुलाई सजावट गरी गाई बनेर भगवानको रुपमा वा वास्तविक गाईसहित गाउँ सहर परिक्रमा गर्ने चलन रहिआएको छ । यसरी गाईको रुपमा परिक्रमा गरिरहेकालाई अन्य व्यक्तिहरुले मिठा खानेकुरा वा पैसा दान दिने गरिन्छ । यसरी दान गर्दा दान गर्नेलाई पनि पुण्य प्राप्त हुने जनविश्वास रहेको अध्यक्ष मानन्धरले बताउनुभयो ।

भाद्र कृष्ण प्रतिपदाका दिन मनाइने गाईजात्रा नेवार समुदायको बाहुल्यता तथा बस्ती रहेका स्थानहरु काठमाडौं उपत्यका, धुलिखेल, बनेपा, थाहा नगर, पोखरा, हेटौंडा, विराटनगर, वीरगञ्ज लगायतका सहरहरुमा मनाइँदै आइरहेको छ । विशेषगरी काठमाडौं उपत्यकामा गाईजात्राको अवसरमा विभिन्न कार्यक्रमहरु आयोजना गरी सामाजिक, राजनीतिक विकृति तथा बेथितिबिरुद्ध व्यङ्ग्यात्मक प्रस्तुतिहरु समेत गर्ने गरिन्छ ।

सोह्रौं शताब्दीको मध्यतिर कान्तिपुरका राजा प्रताप मल्लको छोराको मृत्युपछि पुत्रशोकले भावविह्वल भएकी रानीलाई सान्त्वना दिनका लागि जनतालाई मरेका व्यक्तिको नामबाट गाईजात्रा निकाल्न आदेश दिएसँगै यो पर्व सुरुवात भएको इतिहास छ ।