हेटौंडा : मकवानपुरको ७ वटा पालिकाबाट कक्षा १२ मा ४९१ जना विद्यार्थी ग्रेडेड भएका छन् । गत बैशाखमा सञ्चालन भएको कक्षा १२ को वार्षिक परीक्षाको सोमबार सार्वजनिक भएको नतिजाअनुसार जिल्लाको बकैया, कैलाश, भीमफेदी, राक्सिराङ, मकवानपुरगढी, थाहा र मनहरीबाट ४९१ जना विद्यार्थी ग्रेडेड भएका हुन् ।

बकैया गाउँपालिकामा रहेका चारवटा विद्यालयबाट यसवर्ष १०६ जना विद्यार्थी ग्रेडेड भएका छन् । गाउँपालिकाका शिक्षा शाखा प्रमुख आइतराम तामाङका अनुसार परीक्षामा २६५ जना सहभागी भएका थिए । पालिकाबाट ग्रेडवृद्धिका लागि १२७ जनाले सहभागिता जनाउन पाउनेछन् भने ३२ जनाले सहभागी हुन पाउँदैनन् ।

पालिकाभित्र रहेको बुद्ध माविबाट १०७ जना विद्यार्थी परीक्षामा सहभागी भएकामा ३५ जनामात्रै ग्रेडेड भएका छन् । ६१ जना विद्यार्थीले मौका परीक्षा दिन पाउनेछन् भने १० जना सहभागी हुन पाउँदैनन् । महेन्द्र माविबाट ११० जना विद्यार्थी परीक्षामा सहभागी भएका थिए । ५४ जना ग्रेडेड भएका छन् भने ३८ जनाले ग्रेडवृद्धि परीक्षा दिन पाउने र १८ जना ग्रेडवृद्धिमा सहभागी हुन नपाउने भएका छन् ।

जनक माविबाट १९ जना विद्यार्थी परीक्षामा सहभागी भएकामा नौ जना ग्रेडेड भएका छन् । ८ जना विद्यार्थी ग्रेडवृद्धि परीक्षामा सहभागी हुन पाउनेछन् भने दुई जना सहभागी हुन पाउँदैनन् । कर्म प्राप्ति माविबाट ३० जना विद्यार्थी परीक्षामा सहभागी भएका थिए भने आठ जना विद्यार्थी ग्रेडेड भएका छन् । २० जना विद्यार्थीले ग्रेडवृद्धि परीक्षामा सहभागी हुन पाउँछन् भने दुईजना विद्यार्थीले पाउँदैनन् ।

मनहरी गाउँपालिकाबाट कक्षा १२ को परीक्षामा यसवर्ष १०७ जना विद्यार्थी उत्तीर्ण भएका छन् । गाउँपालिकाका शिक्षा शाखा प्रमुख प्रदीप पराजुलीका अनुसार पालिकाभित्र रहेको चारवटा मावि विद्यालयबाट कक्षा १२ को परीक्षामा २९५ जना विद्यार्थी सहभागी भएका थिए ।

पालिकाभित्र रहेको महेन्द्रज्योति माविबाट २२ जना विद्यार्थी परीक्षामा सहभागी भएकामा १० जना विद्यार्थी ग्रेडेड भएका छन् । ८ जना विद्यार्थीले ग्रेडवृद्धि परीक्षा दिन पाउनेछन् भने चारजनाले पाउँदैनन् । महेन्द्रकिरण माविबाट ८२ जना विद्यार्थी परीक्षामा सहभागी भएकामा ३४ जना ग्रेडेड भएका थिए । ग्रेडवृद्धि परीक्षामा ४१ जनाले सहभागिता जनाउनेछन् भने ७ जनाले पाउँदैनन् ।

मनहरीको बाल जीवनज्योति माविबाट ३७ जना विद्यार्थीले परीक्षा दिएकोमा १३ जना ग्रेडेड भएका थिए । ग्रेडवृद्धि परीक्षामा १७ जना सहभागी हुनेछन् भने ८ जनाले सहभागी हुन पाउँदैनन् । राष्ट्रिय रोटरी माविबाट १५४ जना विद्यार्थी परीक्षामा सहभागी भएकोमा ५० जना विद्यार्थी ग्रेडेड भएका छन् ।

भीमफेदी गाउँपालिकामा रहेको २ वटा माविबाट १५ जना विद्यार्थी ग्रेडेड भएका छन् । गाउँपालिकाको कृष्ण माविबाट पाँचजना विद्यार्थीले परीक्षा दिएका थिए भने पाँचै जना विद्यार्थी ग्रेडेड भएका हुन् । महेन्द्र माविबाट २४ जना विद्यार्थीले परीक्षा दिएका थिए भने १० जना विद्यार्थीमात्रै ग्रेडेड भएको गाउँपालिकाका शिक्षा शाखा प्रमुख चन्द्रकान्त चौधरीले जानकारी दिनुभयो । कैलाश गाउँपालिकाको कालिका माविबाट ४२ जना विद्यार्थी परीक्षामा सहभागी भएकामा १० जना विद्यार्थीमात्रै ग्रेडेड भएका छन् ।

राक्सिराङ गाउँपालिकाका दुईवटा विद्यालयबाट ९ जना विद्यार्थी ग्रेडेड भएका छन् । पालिकाका शिक्षा शाखा प्रमुख पंकज थारुका अनुसार पालिकाको सूर्योदय माविबाट ३६ जना विद्यार्थीले परीक्षा दिएकामा ६ जना विद्यार्थीमात्रै ग्रेडेड भएका छन् । २२ जना विद्यार्थी ग्रेडवृद्धि परीक्षामा सहभागी हुनेछन् भने ६ जनाले ग्रेडवृद्धि परीक्षा दिन पाउँदैनन् । यस्तै, राष्ट्रिय माविबाट १९ जनाले परीक्षा दिएकोमा तीनजना विद्यार्थीमात्रै उत्तीर्ण भएका छन् । ११ जनाले ग्रेडवृद्धि परीक्षा दिनेछन् भने पाँच जना सहभागी हुन पाउँदैनन् ।

मकवानपुरगढी गाउँपालिकाबाट यसवर्ष कक्षा १२ को परीक्षामा ६३ जना विद्यार्थी ग्रेडेड भएका छन् । पालिकाभित्र रहेका पाँचवटा विद्यालयबाट १०७ जना विद्यार्थी परीक्षामा सहभागी भएका थिए । सहभागी विद्यार्थीमध्ये ६३ विद्यार्थी ग्रेडेड भएका छन् भने ४४ जना नन–ग्रेडेड भएका छन् ।

५ वटा विद्यालयका ३७ जना विद्यार्थीले ग्रेडवृद्धि परीक्षामा सहभागी हुन पाउनेछन् भने सात जनाले सहभागिता जनाउन नपाउने भएको गाउँपालिकाका शिक्षा शाखा प्रमुख रामबहादुर घलानले जानकारी दिनुभयो । गाउँपालिकाको भानु माविबाट परीक्षा दिएका १७ जनामध्ये १५ जना विद्यार्थी ग्रेडेड भएका छन् । नन–ग्रेडेड भएका एकजनाले ग्रेड वृद्धिका लागि परीक्षा दिन पाउनेछन् भने एकजना सहभागी जनाउन नपाउने भएका छन् ।

मकवानपुरगढीको वंशगोपाल माविबाट १३ जना विद्यार्थी परीक्षामा सहभागी भएकामा १० जना ग्रेडेड भएका छन् । नन–ग्रेडेड भएका तीनैजना विद्यार्थीले ग्रेडवृद्धि परीक्षाका लागि आवेदन दिन पाउनेछन् । शारदा माविबाट ३४ जना सहभागी भएका थिए भने १७ जना ग्रेडेड भएका छन् । ग्रेडवृद्धि परीक्षाका लागि १५ जना विद्यार्थीले सहभागिता जनाउन पाउनेछन् भने दुई जनाले नपाउने भएका छन् ।

चण्डिका माविबाट २८ जना परीक्षामा सहभागी भएकोमा १३ जना ग्रेडेड भएका छन् । ग्रेडवृद्धि परीक्षाका लागि १२ जनाले सहभागिता जनाउन पाउनेछन् भने तीनजनाले नपाउने भएका छन् । यस्तै, जनता माविबाट १५ जना सहभागी भएकामा ८ जना ग्रेडेड भएका छन् । ग्रेडवृद्धि परीक्षामा ६ जना सहभागी हुन पाउनेछन् भने एकजना नपाउने भएका छन् ।

मकवानपुरको थाहा नगरपालिकाबाट १२ कक्षाको परीक्षामा १८२ जना विद्यार्थी ग्रेडेड भएका छन् । पालिकाभित्र रहेका ६ वटा माध्यमिक विद्यालयबाट २ सय ७४ जना विद्यार्थी परीक्षामा सहभागी भएको थाहा नगरपालिकाको शिक्षा शाखा प्रमुख माधवविक्रम मल्लले जानकारी दिनुभयो ।

प्राविधिक विषयमात्र पठनपाठन हुने थाहा–७ को सुन्दरी माविको शून्य नतिजा ल्याएको छ । विद्यालयबाट ४ जना विद्यार्थी परीक्षामा सहभागी भएका थिए । थाहा–३ मा रहेको जनकल्याण माविमा प्राविधिकतर्फ ८ जनाले परीक्षा दिएकोमा शतप्रतिशत नतिजा आएको छ । साधारणतर्फ १३४ जनाले परीक्षा दिएकामा ८० जना विद्यार्थी ग्रेडेड भएका छन् ।

थाहा नगरपालिकाको बज्रबाराही माविबाट ३५ जना विद्यार्थीले परीक्षा दिएकोमा ३० जना विद्यार्थी ग्रेडेड भएका छन् । स्वच्छन्दभैरव माविबाट २१ जना विद्यार्थी परीक्षामा सहभागी भएकामा १४ जना ग्रेडेड भएका छन् । नाटेश्वर माविबाट परीक्षामा सहभागी १५ जना विद्यार्थीमध्ये १४ जना ग्रेडेड भएका छन् । बागेश्वरी माविबाट परीक्षामा सहभागी ५७ जना विद्यार्थीमा ३६ जना ग्रेडेड भएका छन् ।