सम्मान कार्यक्रमपछि खिचिएको सामूहिक तस्वीर ।

हेटौँडा : नेपाली भाषा शिक्षक समिति मकवानपुरले नेपाली विषयमा उत्कृष्ट अङ्क ल्याउने विद्यार्थी र शिक्षकलाई सम्मान गरेको छ । शनिबार समितिले २०८१ सालको एसईईमा ‘ए’ प्लस ल्याउने ७३ जना विद्यार्थी र नेपाली विषय शिक्षक २८ जनालाई सम्मान गरिएको समितिका निवर्तमान अध्यक्ष केशव सन्जेलले जानकारी दिनुभयो ।

समितिले हेटौँडाभित्र रहेका निजी र सामुदायिक विद्यालयका ७३ जना विद्यार्थी र २८ जना शिक्षकलाई सम्मान गरेको हो । नेपाली भाषा शिक्षक समिति मकवानपुरका सल्लाहकार तथा विशिष्ट आजीवन सदस्य ध्रुवकुमार भुजेलले आमाबुबा राम–सावित्रीको सम्मानमा सम्मानको प्रायोजन गर्नुभएको हो । राम सावित्री सम्मानबाट प्रत्येक वर्ष विद्यार्थी र शिक्षकलाई सम्मान गरिँदै आएको छ ।

यस्तै कार्यक्रमको अवसरमा समितिको पाँचौं अधिवेशन पनि सम्पन्न भएको छ । अधिवेशनले ज्योति न्यौपानेलाई समिति अध्यक्षमा चयन गरेको छ । समितिको उपाध्यक्षमा माधव गौतम र सुशीला चौलागाईं, सचिवमा डिबी बर्तौला, कोषाध्यक्षमा कमल नेपाल र सहसचिवमा उपेन्द्र रानामगर चयन हुनुभएको छ ।

यस्तै सदस्यहरूमा सुन्दर लुइटेल, प्रेम बमजन, नेत्रकुमारी मैनाली, केशव न्यौपाने र अनमोल आचार्य चयन हुनुभएको छ । नेपाली भाषा शिक्षक समिति मकवानपुरका निवर्तमान अध्यक्ष केशवप्रसाद सञ्जेलको अध्यक्षता तथा राष्ट्रिय परीक्षा बोर्ड हेटौँडाका प्रमुख बद्रीबहादुर पाठकको प्रमुख आतिथ्यमा भएको कार्यक्रममा सल्लाहकारहरू रमेशमोहन अधिकारी, ध्रुवकुमार भुजेल, विष्णुप्रसाद गौतम, माधवप्रसाद खतिवडा, सागरप्रसाद खतिवडा, सामाजिक विषय शिक्षक समाजका अध्यक्ष भोगेन्द्र लुईटेल, गणित विषय शिक्षक समूहका अध्यक्ष धनिकलाल साहलगायतको उपस्थिति रहेको थियो ।