सुरजचन्द्र लामिछाने ।

हेटौँडा : नेपाली कांग्रेस बागमती प्रदेश संसदीय दलको प्रवक्तामा सुरजचन्द्र लामिछाने नियुक्त हुनुभएको छ । शनिबार बसेको कांग्रेस संसदीय दलको कार्यसमितिको बैठकले लामिछानेलाई प्रवक्तामा नियुक्त गरेको हो ।

लामिछाने प्रदेशका पूर्वमन्त्री हुनुहुन्छ । साउन ९ मा तत्कालीन संसदीय दलका नेता रहेका बहादुर सिंह लामालाई अविश्वास प्रस्ताव दर्ताको क्रममा लामिछानेसहित अन्य ३ मन्त्रीले राजीनामा दिएका थिए । राजीनामा सँगै उनीहरु लामा विरुद्धको अविश्वास प्रस्तावको पक्षमा खुलेका थिए । लामा विरुद्धको अविश्वास प्रस्ताव पारित गर्दादेखि कांग्रेस संसदीय दलको निर्वाचनमा कांग्रेस बागमती प्रदेश सभापति इन्द्रबहादुर बानियाँलाई जिताउन महत्वपूर्ण भुमिका खेलेका थिए ।

बैठकले संसदीय दलका नेता एवम् प्रदेशका नवनियुक्त मुख्यमन्त्री इन्द्रबहादुर बानियाँको विश्वासको मत दिन प्रदेशसभा सदस्यहरुलाई ह्विप जारी गर्ने निर्णय गरेको छ । बैठकले साउन २७ मा हुने मुख्यमन्त्री बानियाँको विश्वासको मत लिने दिन अनिवार्य उपस्थित भएर उक्त प्रस्तावको पक्षमा मत दिन ह्विप जारी गर्ने निर्णय गरेको हो ।

बैठकले ३ सदस्यीय अनुशासन समिति गठन गर्ने निर्णय गरेको छ । अनुशासन समिति सदस्यमा लामिछाने, छिरिङ दोर्जे लामा र विनु रायमाझी पौडेल रहेका छन् ।