हेटौँडा : रसुवा जिल्लास्थित धार्मिक तीर्थस्थल गोसाइकुण्डमा जनैपूर्णिमाको अवसरमा लाग्ने मेला भर्न जाँदै गरेका पाँच तीर्थयात्री लेक लागेर अस्वस्थ भएका छन् । रसुवा जिल्लाको धुन्चेबाट पदयात्रा गर्दै गोसाइकुण्ड जाने क्रममा उनीहरु अस्वस्थ भएका बागमती प्रदेश प्रहरी कार्यालय हेटौँडाले जानकारी दिएको छ ।

गोसाइकुण्ड जाने क्रममा शुक्रबार दिउँसो १२ बजेर ४० मिनेटको समयमा गोसाइकुण्ड गाउँपालिका–५, चोलाङपाटीमा लेक लागेर एक जना वृद्ध बिरामी भएका छन् । काठमाडौं जिल्लाको नागार्जुन नगरपालिका–८, सितापाईलाका ७२ वर्षीय वलराम बरुवाल लेक लागेर बिरामी भएका हुन् । बलरामलाई लेक लागेर स्वासप्रश्वासमा समस्या भएपछि बिरामी भएका थिए । बलरामलाई प्राथमिक उपचार गर्दै रसुवा अस्पताल धुन्चे लैजाने क्रममा उनको अवस्था मध्यम रहेको जनाएको थियो । साँझ ६ बजेको समयमा बरुवालको स्वास्थ्य अवस्था सामान्य भएपछि उनलाई गोसाइकुण्ड गाउँपालिका–६ मिनी गोसाइकुण्डमा आफन्तको जिम्मा लगाइएको प्रहरीले जनाएको छ ।

रसुवाको गोसाईकुण्ड गाउँपालिका–५ मा लेक लागेर एक जना पुरुष बिरामी भएका छन् । शुक्रबार साँझ ५ बजेर ४० मिनेटको समयमा गोसाइकुण्ड मेला गएका सप्तरी जिल्लाका २४ वर्षीय विष्णुज्योति चौधरीलाई लेक लागेर स्वासप्रश्वासमा समस्या भएर बेहोस भएको प्रहरीले जानकारी दिएको छ । चौधरीलाई प्रहरी, नेपाली सेना र सशस्त्र प्रहरी बल नेपालको मेडिकल टिमसहितले उद्दार गरी रसुवा अस्पताल धुन्चे ल्याउँदै गर्दा राती ८ बजेर ३० मिनेटको समयमा चन्दनबारी आर्मी पोष्ट ल्याउदा सामान्य भएको प्रहरीले जानकारी दिएको छ ।

यस्तै गोसाईकुण्ड गाउँपालिका–६, गोसाईकुण्डमा लेक लागे ३ जना बिरामी भएका छन् । शनिबार बिहान ३ बजेर १० मिनेटको समयमा गोसाइकुण्ड मेलामा गएका ३ जनाको स्वासप्रश्वासमा समस्या भई विरामी भएको प्रहरीले जानकारी दिएको छ । लेक लागेर काठमाडौंको गोकर्णेश्वर नगरपालिका–५ का ५७ वर्षीय चन्द्र तिमल्सिना, टोखा नगरपालिका–८ का १८ वर्षीय छेतिज घले र रामेछाप जिल्लाको लिखुतामाकोशी गाउँपालिका–१ की ३० वर्षीया धनुषा सुनुवार बिरामी भएको प्रहरीले जानकारी दिएको छ । तीनै जनालाई नेपाल प्रहरी र नेपाली सेनाको टोलीले उद्दार गरी रसुवा अस्पताल धुन्चे लगिएको प्रहरीले जानकारी दिएको छ ।