निषेधाज्ञा लागुभएपछि सुनसान देखिएको हेटौंडा–४, पारिजातपथ ।

हेटौंडाः कोरोना भाइरस (कोभिड–१९) सङ्क्रमितको संख्या बढेसँगै सोमबार राती १२ बजेदेखि बागमती प्रदेशको राजधानी हेटौंडा बजारमा निषेधाज्ञा लागु भएको छ । जिल्ला सुरक्षा समितिको सोमबार बसेको बैठकले राती १२ बजेपछि साउन ३२ गते राती १२ बजेसम्मका लागि हेटौंडा बजार र मनहरी गाउँपालिकाअन्तर्गत पूर्वपश्चिम राजमार्गको दायाँबायाँ पाँच सय मिटर क्षेत्रमा निषेधाज्ञा लागु गर्ने निर्णय गरेको थियो ।

सुनसान राप्तीरोडक्षेत्र ।

निषेधाज्ञा लागु भएसँगै आज हेटौंडा बजार सुनसान बनेको छ । स्थानीय प्रशासनले बिहान ९ बजेसम्म खाद्यान्न खरिद विक्री गर्न खुला गरे पनि सर्वसाधारणको उपस्थिति पातलो थियो । कोरोना भाइरसको सङ्क्रमण बढेसँगै सर्वसाधारण आफैं पनि सतर्क देखिएका छन् ।

यसअघि देशव्यापी लकडाउन घोषणा गर्दा पनि बजारक्षेत्र र आवासीय क्षेत्रमा पनि सर्वसाधारणको गतिविधि नियन्त्रण गर्न स्थानीय प्रशासन, प्रहरीलाई गाह्रो भएको थियो । हेटौंडा बजारक्षेत्रको सुरक्षामा खटिएका एक प्रहरीका अनुसार लकडाउनमा भन्दा आज सर्वसाधारणको उपस्थिति न्यून रहेको र सतर्कता समेत बढी देखिएको छ ।