हेटौंडाः आफूविरुद्ध हस्ताक्षर संकलन भएको भन्ने बागमती प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेलको भनाइले नेतृत्व, नेता, कार्यकर्ता र आम जनमानसमा भ्रम सिर्जना गरेको भन्दै मकवानपुरबाट प्रतिनिधित्व गर्ने प्रदेश सभा सदस्यहरुले ध्यानाकर्षण भएको जनाएका छन् ।
आइतबार जिल्ला समन्वय समिति मकवानपुरको पाँचौं जिल्ला सभालाई सम्बोधन गर्नुहुँदै मुख्यमन्त्री पौडेलले आफूविरुद्ध मकवानपुर जिल्लाबाट प्रतिनिधित्व गर्ने प्रदेश सभा सदस्यहरुबाटै हस्ताक्षर संकलनको कार्य भइरहेको बताउनुभएको थियो । मकवानपुरबाट बागमती प्रदेश सभामा प्रतिनिधित्व गर्ने नेकपासम्वद्ध प्रदेश सभा सदस्यहरुले संयुक्त विज्ञप्ति जारी गर्दै ध्यानाकर्षण भएको जनाएको छ ।
बागमती प्रदेश सभा सदस्य कुमारी मोक्तान, प्रेमबहादुर पुलामी, मुनु सिग्देल र ओम घलानले संयुक्त विज्ञप्ति जारी गर्दै मुख्यमन्त्रीको अभिव्यक्तिप्रति खेद व्यक्त गरेका छन् ।
बजेट वितरणका सन्दर्भमा प्रदेश सभा सदस्यहरुबाट मुख्यमन्त्रीको विरोध भएको स्वीकार्दै प्रदेशको राजधानी हेटौंडा कायम गर्ने पार्टीको निर्णयलाई आफूहरुले आत्मसात गरे पनि मुख्यमन्त्रीले व्यक्तिगत पुँजीको रुपमा लिनुले प्रदेश सभा सदस्यमा असन्तुष्टि बढेको विज्ञप्तिमा उल्लेख छ । प्रदेश सभामा आफूलाई कमजोर महसुस गरी आफ्नो कमजोरी ढाकछोप गर्न र असक्षमता लुकाउन मुख्यमन्त्रीले यस्तो अभिव्यक्ति दिनुभयो कि भन्ने अनुमान गर्दै प्रदेश सभा सदस्यहरुले कार्यकर्तामा भ्रम नहोस् भनी सामूहिक विज्ञप्ति जारी गरिएको जनाएका छन् ।