आइतबार जिल्ला सभालाई सम्बोधन गर्नुहुँदै बागमती प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेल ।

हेटौंडाः बागमती प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेलले आफूले गरेका सबै राम्रा कार्यमा पनि अहिले आलोचना भैरहेको बताउनुभएको छ । उहाँले आफूलाई छिट्टोभन्दा छिटो निकाल्ने काम मकवानपुरका सांसदहरु लागीपरेको बताउनुभयो । जिल्ला समन्वय समिति मकवानपुरको पाँचौ जिल्ला सभालाई आइतबार सम्बोधन गर्नुहुँदै उहाँले मकवानपुरका सांसदहरुले नै अविश्वासको प्रस्ताव दर्ता गर्न अहिले हस्ताक्षर अभियान सुरु गरिसकेको पनि बताउनुभयो । तर यसबारे आफूलाई कुनै चिन्ता नभएको भन्दै जिम्मेवार नागरिकको हैसियतले हेटौंडा र मकवानपुरवासीका लागि आफ्नो तहबाट गर्न सकेको गरेको बताउनुभयो ।

सबैले इमान्दारिताका साथ काम गरे भने अझै २ अढाई वर्षमा धेरै कामहरु हुन सक्नेमा आफु विश्वस्त रहेको उहाँले बताउनुभयो । मुख्यमन्त्री पौडेलले भन्नुभयो, “राम्रा काममा प्रतिष्पर्धा गर्ने हो, अस्वस्थ प्रतिस्पर्धा गरेर फाइदा छैन ।” समृद्धि चाहने हो भने सबैले सोच फराकिलो बनाउनुपर्ने भन्दै उहाँले आफ्नै पार्टीका सांसदहरुलाई इङगित गर्दै “एकले अर्कालाई हिलो छ्याप्न” नहुने बताउनुभयो ।
मुख्यमन्त्री पौडेलले बागमती प्रदेशको राजधानी हेटौंडा हुनुमा सबैको साथ र सहयोगले गर्दा भएको बताउनुभयो । बागमती प्रदेशको राजधानी हेटौंडा भएकै कारण अहिले ठूला–ठूला उद्योगका लगानीकर्ता, ठूला–ठूला होटलहरु, उद्यमीहरु आएको बताउनुभयो । मुख्यमन्त्री पौडेलले बागमती प्रदेशको राजधानी आएसँगै हेटौंडामा ठुला विकास देखिन लागेको बताउनुभयो । उहाँले राजधानी आएकै कारण हेटौंडा काठमाडौं सुरुङमार्ग बन्ने भएको र अहिले ठेक्का लाग्ने तयारी अवस्थामा रहेको बताउनुभयो । त्यस्तै मदन भण्डारी स्वास्थ्य विज्ञान प्रतिष्ठानको जग बसाल्ने काम भैसकेको, हेटौंडा–काठमाडौं जाने बाटो फराकिलो पार्ने काम अहिले भइरहेको, हेटौंडाको गौरिटारको अन्तर्राष्ट्रियस्तरको रंगशाला २ वर्षमा पूरा हुने गरी काम भैरहेको बताउनुभयो ।

सिटिइभिटीको प्राविधिक कार्यालयसहित २० देखि २२ वटा भवनहरु बन्दै गरेको तथा हेटौंडा अस्पताललाई ३ सय बेडमा विस्तार गर्ने काम प्रदेशको राजधानी भएकै कारण भएको मुख्यमन्त्री पौडेलको भनाइ छ । मकवानपुर जिल्लाका सबै गाउँगाउँमा प्रदेश सरकारको काम भएको भन्दै प्रदेशको राजधानी नभएको भए यस्तो नहुने बताउनुभयो । आफ्नो घरको बाटो बनेमात्र विकास नत्र काम नै नभएको भन्ने गलत रहेको उहाँले बताउनुभयो । मुख्यमन्त्री पौडेलले भन्नुभयो, “अझै धेरै काम गर्नुपर्छ, यो अवसर पनि हो । प्रदेशको राजधानी हेटौंडा र हेटौंडाकै मुख्यमन्त्री हुनु यसलाई हामीले अवसरमा बदल्न सक्नुपर्छ । भोलि यस्तो अवसर नआउन पनि सक्छ ।”