सपथग्रहण कार्यक्रम स्थगित गरिएको सम्बन्धी प्रदेश प्रमुखको कार्यालयले जारी गरेको सूचना ।

हेटौँडा : बागमती प्रदेश सरकारका नवनियुक्त मन्त्रीहरुको आज बिहीबारका लागि तय गरिएको सपथग्रहण कार्यक्रम स्थगित गरिएको छ । प्रदेश प्रमुख दीपकप्रसाद देवकोटाको स्वास्थ्यमा अकस्मात समस्या आएपछि उपचारार्थ काठमाडौं जानु परेकोले बिहीबार दिउँसो १ बजेका लागि तय गरिएको सपथग्रहण कार्यक्रम स्थगित गरिएको प्रदेश प्रमुखको कार्यालयले जनाएको छ ।

प्रदेश प्रमुख देवकोटा उपचारका लागि काठमाडौं प्रस्थान गरिसक्नुभएको प्रदेश प्रमुखको कार्यालयका प्रवक्ता देवेन्द्र सापकोटाले जानकारी दिनुभएको छ । यसअघि बुधबार प्रदेश प्रमुखको कार्यालयले एक सूचना जारी गर्दै बिहीबार दिउँसो १ बजेका लागि सपथग्रहण कार्यक्रम तय गरेको जनाएको थियो ।

बुधबार सत्ता साझेदार दल एमालेको असहमतिका बीच कांग्रेसका नवनियुक्त ३ मन्त्रीको सपथ ग्रहण रोकीएको थियो । उक्त रोकिएको सपथ कार्यक्रम आज १ बजे गर्ने गरी मुख्यमन्त्री बहादुर सिंह लामाले अघि बढाउनुभएको थियो । कांग्रेसको आन्तरिक विवाद उच्च भइरहेको र संसदीय दलको नेताका लागि मतदान प्रक्रिया जारी रहेकाले एमालेले तत्काल मन्त्री नियुक्ति तथा सपथको कार्यक्रम अघि नबढाउन सुझाव दिएको थियो । मुख्यमन्त्री लामाले मन्त्रीहरुको सपथ संचालन गर्न दवाव बढाएपनि एमालेले विवाद थप बढ्ने भन्दै सो कार्यमा सहमति नजनाउँदा कार्यक्रम रोकिएको थियो ।

मुख्यमन्त्री लामाले रिक्त ५ मन्त्रालय मध्ये ३ वटामा मन्त्री नियुक्त गरेर बुधबार बिहान ९ बजे सपथका लागि प्रदेश प्रमुख समक्ष सिफारिस गर्नुभएको थियो । मुख्यमन्त्री लामाले प्रदेशसभा सदस्य गोविन्द लम्साललाई आन्तरिक मामिला तथा कानुन मन्त्रालय, माया श्रेष्ठलाई युवा तथा खेलकुद मन्त्रालय र गीता गुरुङलाई सहकारी तथा गरिवी निवारण मन्त्रालयको जिम्मेवारी दिने निर्णय गरेर सपथग्रहणका लागि प्रदेश प्रमुखलाई सिफारिस गर्नुभएको थियो ।