बागमती प्रदेश सरकारको नेतृत्व गरिरहेका नेपाली कांग्रेसका बहादुर सिंह लामा आफ्नै पार्टीका प्रदेशसभा सदस्य (सांसद)का कारण संकटमा परेका छन् । कांग्रेस बागमती प्रदेश संसदीय दलका नेतासमेत रहेका लामाको विरुद्धमा पार्टीका आधाभन्दा बढी सांसदहरुले गत शुक्रबार अविश्वास प्रस्ताव दर्ता गराए । मंगलबार अविश्वासको प्रस्ताव पारित भएपछि लामा संसदीय दलको नेता रहेनन् । बुधबार पार्टीको संसदीय दलको नेतामा कांग्रेस बागमती प्रदेश सभापतिसमेत रहेका प्रदेशसभा सदस्य इन्द्रबहादुर बानियाँ संसदीय दलको नेता चयन भएका छन् । संसदीय दलको नेताबाट हटे पनि मुख्यमन्त्री लामाले मन्त्रिपरिषद् फेरबदल गरेर सत्ता लम्ब्याउने प्रयास गरिरहेका छन् । लामाले केही नयाँ मन्त्री नियुक्त गरेर बिहीबार दिउँसो १ बजे सपथ गराउने कार्यक्रम तय भएको छ । तर, सत्ता साझेदार एमालेले कांग्रेसको संस्थागत निर्णय मान्ने निर्णय गरेपछि लामाले मुख्यमन्त्रीबाट पनि हात धुनुपर्ने लगभग निश्चित भएको छ ।
आफ्नै पार्टीको मुख्यमन्त्रीलाई हटाउन कांग्रेसमा देखिएको गुटबन्दीले कांगे्रस पार्टीसमेत कमजोर बन्ने सम्भावना बढेको छ । कांग्रेसका ३७ जना प्रदेशसभा सदस्यमध्ये २२ जना लामाविरुद्धको अविश्वास प्रस्तावको पक्षमा र १५ जना अविश्वासको विपक्षमा खडा भएका थिए । अहिलेको घटनाक्रमलाई हेर्दा कांग्रेस बागमती प्रदेशसभामा स्पष्ट २ धार देखिए पनि कांग्रेसभित्र थुप्रै गुट र धार रहेको पुष्टि गरेको छ । बिहीबार संसदीय दलको नयाँ नेता चयनका लामा र बानियाँबिच भएको प्रतिस्पर्धामा बानियाँले २२ मत र लामाले १४ मत प्राप्त गरेका छन् । कांग्रेसका शीर्ष नेताहरु शेरबहादुर देउवा, प्रकाशमान सिंह, गगनकुमार थापा, प्रकाशशरण महत, बालकृष्ण खाँडलगायतको सक्रियतामा कांग्रेस बागमतीमा अविश्वास प्रस्ताव आएको थियो भने अविश्वास प्रस्तावको विपक्षमा कृष्णप्रसाद सिटौला, शेखर कोइराला, महालक्ष्मी अर्याल (डिना)लगायत शीर्ष नेता देखिएका थिए ।
शीर्ष नेताहरुकै चलेखलका कारण मुख्यमन्त्री लामामाथि संकट आएको प्रष्ट छ । आफ्नै मन्त्रिपरिषद्का सदस्य तथा आफ्नै पार्टीका सांसद शीर्ष नेताको प्रभावमा पर्दा लामाले संकट बेहोर्नुले कांग्रेसभित्र गुटबन्दी थप मौलाउने सम्भावना बढेको छ । लामाविरुद्ध अविश्वास प्रस्तावको पक्षमा पार्टी सभापति देउवासहित ६ जना शीर्ष नेताका पक्षधर सांसद उभिएका थिए । अविश्वास प्रस्तावको विपक्षमा पनि देउवासहित ६÷७ जना शीर्ष नेताका पक्षधर सांसद थिए । एउटै शीर्ष नेताका पक्षधरहरु कोही अविश्वास प्रस्तावको पक्ष र कोही विपक्षमा देखिनुले कांग्रेसभित्रको गुटबन्दी अझ छरपष्ट हुने सम्भावना देखिन्छ । आफ्नै पार्टीका नेता तथा सांसदहरु मिलेर मुख्यमन्त्री लामालाई संकटमा पारेको अवस्थामा पार्टीभित्र गुटगत राजनीति झाङ्गिने र यसको प्रभाव अन्य प्रदेश तथा केन्द्रमा समेत पर्नसक्ने देखिएको छ ।
मुलुकका राजनीतिक दलहरुको नेतृत्वको कार्यशैलीका कारण दल र व्यवस्थामाथि नै विभिन्न प्रकारका समस्या आउने गरेका छन् । दलभित्रको गुटबन्दी, अविश्वास, पदको लोभजस्ता क्रियाकलापले संसदीय व्यवस्थामाथि नै दूरगामी असर गर्न सक्ने तथ्यलाई नेतृत्वले गम्भीर रुपमा लिन सकेको देखिँदैन । सामान्य गुटबन्दी सबैजसो दलमा देखिए पनि कांग्रेसमा एउटै गुटभित्र पनि विभाजन देखिनुले उक्त दल कमजोर बन्ने सम्भावना देखिएको छ । कुनै पदीय जिम्मेवारीमा रहेको व्यक्तिको कार्यशैलीप्रति असन्तुष्टी बढेमा त्यसलाई एकजुट भएर समाधान गर्नुपर्नेमा नेतृत्व नै एकआपसमा विभाजित बन्दै जाँदा दलमा ठूलै संकट आउनसक्नेतर्फ नेतृत्व दूरदर्शी हुनुपर्छ ।











