विद्यार्थीलाई सम्मानपछि वडाध्यक्षसहित सम्मानित विद्यार्थीको सामूहिक तस्वीर ।

हेटौँडा : हेटौँडा–१८ नम्बर वडा कार्यालयले एसईईमा उत्कृष्ट नतिजा ल्याउने विद्यार्थीलाई सम्मान गरेको छ । वडाले मंगलबार १५ जना विद्यार्थीलाई सम्मान गरेको मकवानपुर बालविद्या सदनका प्रिन्सिपल सुदिप राज गिरीले जानकारी दिनुभयो ।

वडाले मकवानपुर बालविद्या सदनबाट ३.७८ जिपिए ल्याउने विशाल दुलाल, ३.७४ जिपिए ल्याउन सफल मिनु थोकरलाई सम्मानपत्रसहित जनही नगद ५ हजारले सम्मान गरेको हो । यस्तै विद्यालयबाट ३.२ देखि ३.६ सम्म ल्याउने १३ जना विद्यार्थीलाई सम्मान गरेको छ । वडाले बालविद्या सदनका ८ जना र ज्योति माविका ५ जना विद्यार्थीलाई सम्मानपत्रसहित ३ हजार ५ सय रुपैयाँले सम्मान गरेको गिरीले जानकारी दिनुभयो ।

मकवानपुर बालविद्या सदनबाट २०८१ सालको एसईईमा सतप्रतिशत नतिजा हासिल गरेको थियो । परीक्षामा १८ जना विद्यार्थी सहभागी भएका थिए । विद्यालयमा यस वर्ष पनि एसईई दिने १८ जना विद्यार्थी रहेको गिरीले जानकारी दिनुभयो । वडाले ३ वर्षदेखि एसईईमा राम्रो नतिजा ल्याउने विद्यार्थीलाई पुरस्कृत गर्दै आएको छ । यस्तै वडाले अभिभावकलाई पनि सम्मान गरेको थियो । कार्यक्रममा वडा अध्यक्ष अनिल कुमार बानियाँको प्रमुख आतिथ्यमा सम्मान कार्यक्रम भएको हो ।

राज्यले नै तोकेका क्षेत्र बाहेक अन्यमा क्षेत्रमा बालबालिकाहरुमा विभेद नगरी उनिहरुको अन्तरनिहित प्रतिभा प्रस्फुटनमा गर्न तथा आवश्यकता अनुरुप उच्च शिक्षा हासिल गर्नमा समेत वडा कार्यालयले यातायात सुविधा, छात्रवृत्ति सुविधा तथा अन्य सुविधा समेत उपलब्ध गराइरहेको र थप सहयोगको लागि समेत तयार रहेको वडा अध्यक्ष अनिल बानियाँले बताउनुभयो ।