हेटौंडाः ड्युटीमा बसेका प्रहरी कर्मचारीलाई विभिन्न प्रलोभन देखाई घुस रकम दिन खोज्ने व्यक्तिहरुलाई घुस वापतको रकमसहित पक्राउ गरी कानुनी बमोजिम कारवाहीको दायरामा ल्याउने २ जना प्रहरी कर्मचारीहरुलाई आइतबार बागमती प्रदेश प्रहरी कार्यालयले पुरस्कृत गरेको छ । आर्थिक प्रलोभनमा नपरी आफ्नो ड्युटीमा ईमान्दारिता प्रदर्शन गर्ने प्रहरी कर्मचारीहरुलाई पुरस्कृत गरिएको बागमती प्रदेश प्रहरी कार्यालय हेटौंडाले जनाएको छ । पुरस्कृत हुनेमा जिल्ला प्रहरी कार्यालय सिन्धुली र चितवनमा कार्यरत २ जना प्रहरी हवल्दार छन् ।
कोरोना भाइरस सङ्क्रमणको जोखिमलाई मध्येनजर गरी नेपाल सरकारबाट भएका विभिन्न निर्णयहरु कार्यान्वयनका लागि नियमित ड्युटीमा खटिएका प्रहरी कर्मचारीलाई आर्थिक प्रलोभन देखाई सरकारको निर्देशन उलंघन गर्न खोज्नेहरुलाई घुस वापतको रकमसहित पक्राउ गरी कानूनी कार्वाहीको दायरामा समेत ल्याईएको हो । विशेषगरी सवारी चालकहरुले एक जिल्लाबाट अर्को जिल्ला प्रवेश गर्ने, सवारी पासको दुरुपयोग गरी यात्रु ओसारपसार गर्ने, सवारी दुर्घटना गराई कानूनी कार्वाहीबाट उम्कने र नदिजन्य सामग्री अबैधरुपमा ओसारपसार गर्ने प्रयोजनका लागि ड्युटीमा रहेका प्रहरीलाई ५ सय रुपैयाँदेखि ५ हजार रुपैयाँसम्म रकम दिएर प्रलोभनमा पार्न खोजिएपछि उनीहरुलाई रकमसहित पक्राउ गरिएको हो ।
बागमती प्रदेश प्रहरी कार्यालय अन्तर्गतका कार्यालयहरुमा कार्यरत प्रहरी कर्मचारीहरुबाट नागरिक केन्द्रित, स्तरीय, प्रभावकारी र पारदर्शी सेवा प्रवाह गराउने उद्देश्यले प्रदेश प्रहरी प्रमुख प्रहरी नायव महानिरीक्षक बसन्त कुमार लामाबाट विशेष कार्ययोजना बनाई मातहत कार्यालयहरुलाई सोही अनुरुपको कार्य सम्पादन गर्न निर्देशन भएसँगै प्रहरी कर्मचारीहरुबाट सम्पादन हुने कार्यमा पारदर्शिता र इमान्दारिता देखिन थालेको छ । प्रदेश प्रहरी प्रमुख प्रहरी नायव महानिरीक्षक बसन्त कुमार लामाले कार्यभार सम्हालेपछि उत्कृष्ट कार्य सम्पादन गर्ने प्रहरी कर्मचारीहरुलाई तत्कालै अभिलेखमा जनिने गरी पुरस्कार प्रदान गर्न शुरुवात गरिएकाले त्यसको सकारात्मक प्रभावका कारण मातहत प्रहरी कर्मचारीहरु बीच इमान्दारितापूर्वक कार्य सम्पादन गर्न प्रतिस्पर्धाको वातावरण सृजना भएको प्रदेश प्रहरी कार्यालयको दावी छ ।
प्रदेश प्रहरी कार्यालय र मातहत कार्यालय समेतले गरी आइतबारसम्ममा २३ जना प्रहरी कर्मचारीलाई पुरस्कृत गरिएको छ । आर्थिक प्रलोभनमा परी आफ्नो जिम्मेवारी पूरा नगर्ने एकजना प्रहरी निरीक्षकसहित चार जान प्रहरी कर्मचारीलाई निलम्बन गरी सकिएको छ । पक्राउ परेका व्यक्तिहरुलाई कसुर अनुसार सार्वजनिक हित, स्वास्थ्य, सुरक्षा, सुविधा र नैतिकता विरुद्धको कसुरमा मुद्दा चलाईएको, संक्रमण रोग ऐन २०२० अनुसार आवश्यक कार्वाहीको लागि जिल्ला प्रशासन कार्यालयमा बुझाइएको र कतिपयलाई ट्राफिक नियम उल्लंघन गरेको कसुरमा जरिवाना गराईएको छ ।