हेटौंडाः चौथो राष्ट्रिय सामुदायिक वन दिवस मकवानपुरमा वृक्षरोपण, वृद्धावृद्धहरुलाई भोजन र सामुदायिक वन अभियन्ताहरुलाई सम्मान गरेर मनाइएको छ । आइतबार सामुदायिक वन चौकीटोलको सभाहलमा एक कार्यक्रमको आयोजना गर्दै जिल्ला सामुदायिक वन महासंघ मकवानपुरले “समृद्धिका लागि सामुदायिक वन, उत्पादन र उत्पादकत्वमा योगदान” भन्ने नाराका साथ दिवस मनाएको छ ।

चौथो राष्ट्रिय वन दिवसको अवसरमा अहोरात्र खटिने सामुदायिक वन अभियन्ता विष्णुप्रसाद ढकाल र तिल कुमारी तामाङलाई सम्मान पनि गरिएको छ । सामुदायिक वन जिल्ला महासंघका अध्यक्ष साधुराम चौलागाईको सभाध्यक्षमा भएको कार्यक्रममा डिभिजन वन कार्यालय मकवानपुरका प्रमुख इमनाथ पौडेलको प्रमुख आतिथ्य रहेको थियो । कार्यक्रममा डिभिजन वन कार्यालय राप्तीका प्रमुख दीर्घ नारायण कोईराला, हेटौंडा उपमहानगरपालिका वडा नम्बर १ का वडाअध्यक्ष सविन न्यौपाने, सामुदायिक वन बागमती प्रदेश महासंघ सदस्य रामहरी चौलागाई, गैसस महासंघ बागमती प्रदेशका उपाध्यक्ष आरती पाठक लगायतको उपस्थिती रहेको थियो ।