हेटौंडाः बागमती प्रदेश प्रहरी श्रीमती सङ्घ गठन भएको छ । आइतबार बागमती प्रदेशको राजधानी हेटौंडामा भएको भेलाले सुमी लामाको अध्यक्षतामा १३ सदस्यीय कार्यसमिति गठन गरिएको हो । नेपाल प्रहरी श्रीमती संघको विधान अनुसार प्रदेश प्रहरी कार्यालयहरुमा समेत प्रदेश प्रहरी श्रीमती संघ गठन गर्ने व्यवस्था अनुसार आइतबार संघ गठन भएको हो । प्रदेश प्रहरी श्रीमती संघ गठनको अवसरमा बागमती प्रदेश प्रहरी कार्यालय हेटौंडा परिसरमा वृक्षरोपण समेत गरिएको छ ।

बागमती प्रदेश प्रहरी श्रीमती सङ्घकी उपाध्यक्षमा कल्पना गिरि, महासचिवमा सुमिता श्रेष्ठ गुरुङ, सचिवमा पुनम थापा र कोषाध्यक्षमा ईशा गिरि चयन हुनु भएको छ । त्यस्तै सदस्यहरुमा चन्द्रमुखी जैसवाल, सविता कालाखेती, रक्षा कोईराला, नन्दी थापा मगर, शिवानी मगर, सुष्मा बिक, निशा मगर र सम्झना खरेल चयन हुनु भएको छ । कार्यसमितिका सबै पदाधिकारी र सदस्यहरु सर्वसम्मत चयन गरिएको हो । बागमती प्रदेश प्रहरी कार्यालयका प्रमुख प्रहरी नायव महानिरीक्षक बसन्तकुमार लामाको प्रमुख आतिथ्यमा भएको कार्यक्रममा बागमती प्रदेश प्रहरी कार्यालय, दंगा नियन्त्रण प्रहरी गण, जिल्ला प्रहरी कार्यालय लगायतका कार्यालयमा कार्यरत प्रहरी कर्मचारीहरुको श्रीमतीहरुको उपस्थिति रहेको थियो । कार्यक्रममा बागमती प्रदेश प्रहरी कार्यालयका प्रहरी वरिष्ठ उपरीक्षक सुदिप गिरि लगायत सम्पूर्ण प्रहरी अधिकृत तथा जवानहरुको समेत उपस्थिति रहेको थियो ।

प्रहरी नायव महानिरीक्षककी श्रीमती देखी प्रहरी जवानसम्मका श्रीमतीको प्रतिनिधित्व हुने गरी पदाधिकारी चयन गरिएको छ । प्रदेश प्रहरी श्रीमती संघले प्रहरी कर्मचारीका परिवारका लागि विभिन्न कल्याणकारी कार्य गर्ने, आम नागरिक लक्षित विभिन्न जनचेतनामूलक कार्यक्रम सञ्चालन गर्ने निर्णय समेत गरेको छ । बागमती प्रदेश प्रहरी कार्यालय अन्तर्गत कार्यरत राष्ट्रसेवक प्रहरी कर्मचारीहरुका परिवार (श्रीमती) लाई सामाजिक सेवाका लागि अभिप्रेरित गरी राष्ट्रसेवामा सङ्गठित गर्न तथा दैवी प्रकोपहरु लगायत मानवीय सेवाका विविध क्षेत्रहरुमा सहयोग पुर्‍याई लोक कल्याणकारी सेवा उपलव्ध गराउने पवित्र उद्देश्यका साथ बागमती प्रदेश प्रहरी श्रीमती संघको गठन गरिएको बताइएको छ ।