हेटौंडा : अग्नि ग्रुपले अग्नि लजिस्टिक प्राइभेट लिमिटेडमार्फत् हेटौंडामा महिन्द्राको लजिस्टिक सेन्टर सुरु गरेको छ । यसअघि काठमाडौं, इटहरी, भैरहवामा लजिस्टिक सेन्टरमार्फत् सवारी साधन तथा अटो पार्टस्का उत्पादनहरु व्यापार व्यवस्थापन गर्दै आएको अग्नि ग्रुपले बुधबारदेखि चौथो सेन्टरको रुपमा हेटौंडामा सेवा सुरु गरेको हो ।

बागमती प्रदेशका मुख्यसचिव भुपाल बराल तथा मकवानपुरका प्रमुख जिल्ला अधिकारी स्किम श्रेष्ठले हेटौंडास्थित नवनिर्मित वेयरहाउस तथा शोरुमको उद्घाटन गर्नुभएको छ । उद्घाटन कार्यक्रममा अग्नि इन्कर्पोरेटेड प्रालिमार्फत महिन्द्राको २ गाडीहरु महिन्द्रा बोलेको नियो एसयुभी र महिन्द्रा जियो इभी एकैसाथ सार्वजनिक गरिएको छ । कार्यक्रममा बोल्दै प्रदेशका मुख्यसचिव बरालले पछिल्लो समय राज्यको आर्थिक गतिविधिमा निजी क्षेत्रको योगदान बढ्दै गएको बताउनुभयो । उहाँले निजी क्षेत्रले आयात निर्यात व्यापारमा भन्दा उद्योगधन्दा सञ्चालन गरी उत्पादनलाई बढावा दिनुपर्नेमा जोड दिनुभएको छ ।

कार्यक्रममा अग्नि ग्रुपका अध्यक्ष क्याबिनेट श्रेष्ठले हेटौंडा एक औद्योगिक शहर भएको र नेपालको बिचमा अवस्थित भएकाले उद्योगी तथा व्यवसायी उपभोक्ताहरु बढाउने उद्देश्यले हेटौंडामा सेवा सुरु गरिएको जानकारी दिनुभयो । यसले बागमती प्रदेशको राजधानीमा सवारी साधन खरिद बिक्री बढ्ने आँकलन पनि श्रेष्ठको छ । ३३ हजार १ सय ६७ वर्गफिट क्षेत्रफलमा बनेको लर्जििस्टक सेन्टरमा २ हजार २ सय घनमिटरको सवारी साधन तथा अटो पार्टस्का सामग्रीहरु भण्डारण क्षमता रहेको कम्पनीले जानकारी दिएको छ ।

कार्यक्रममा सशस्त्र प्रहरी बलका डिआइजी अन्जनीकुमार पोखरेल, जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी उपरीक्षक विश्वराज खड्का, अग्नि ग्रुपका प्रबन्ध निर्देशक सुसन श्रेष्ठ, ग्रुपका कार्यकारी निर्देशक अर्जुनप्रसाद शर्मा, ग्रुपका उपाध्यक्ष बेदा सताषा श्रेष्ठ, महिन्द्रा एण्ड महिन्द्राका नेपाल भुटान र बंगलादेशका लागि क्षेत्रीय प्रबन्धक चैतन्य कागलकरद्वारा, नायिका स्वस्तिमा खड्का, नेपालका लजिस्टिक विशेषज्ञहरु, अग्नि ग्रुपका पदाधिकारीहरु, महिन्द्रा एण्ड महिन्द्राका पदाधिकारीहरुलगायतको सहभागिता रहेको थियो ।