हेटौंडाः मदन पुरस्कार गुठीले प्रदान गर्ने ‘मदन पुरस्कार–२०८१’ का लागि मकवानपुरका साहित्यकार श्रेयज सुवेदीको कृति ‘बहुरूपी’ छनोट सूचीमा परेको छ । सुवेदीको ‘बहुरूपी’ कथाकृति मदन पुरस्कार गुठीले छनोट गरेको शीर्ष ७ मा पर्न सफल भएको हो ।

सुवेदीको यो पहिलो प्रकाशित कथा कृति हो । उहाँले आफ्नो कृतिमा चालक, अपरम्परा, शैलुनको सिसा, बगर, इन्द्रेणी, छाला गरी ६ खण्डमा विभाजन गरेर १५ वटा कथा समावेश गर्नुभएको छ । कृतिमा मधेशको परिवेशमा कथा बुन्ने प्रयास गरिएको छ । मधेशको सामाजिक, सांस्कृतिक, आर्थिक र मनोवैज्ञानिक आयामहरूलाई सशक्त कथावाचन शैलीमार्फत् जीवन्त रूपले चित्रण गरिएको छ ।

साहित्यकार सुवेदीले आफ्नो पहिलो कथाकृति मदन पुरस्कारको लागि शीर्ष ७ मा छनोट भएकोमा खुशी व्यक्त गर्नुभयो । नेपालको साहित्य क्षेत्रमा सबैभन्दा प्रतिष्ठित मदन पुरस्कारको श्रेष्ठ सूचीमा आफ्नो कृति बहुरूपी पर्न सफल हुनुलाई सुवेदीले उपलब्धि मान्नुभएको छ । पुरस्कार जित्नुको बेग्लै आनन्द भए पनि छनोटमा पर्नु नै पुरस्कार पाएजस्तै भएको उहाँको भनाइ छ ।

मदन पुरस्कार गुठीले वर्षभरि प्रकाशित भएका साहित्यिक कृतिहरुबाट छनोट गरेर एक कृतिलाई प्रत्येक वर्ष मदन पुरस्कार दिने गर्दछ । गुठीले मंगलबार प्रेस विज्ञप्ति जारी गर्दै प्राप्त भएका कूल २ सय ९९ पुस्तकहरू मध्येबाट शीर्ष ७ कृति छनोट गरिएको जनाएको हो । छुदेन काविमोको कृति उरमाल, रमेश भुसालको कृति छालबाटोः कैलाशदेखि गङ्गासम्म, कुमारी लामाको कृति दज्र्यु संलाप, मनप्रसाद सुब्बाको कृति पञ्चतत्वको पालाम, श्रेयज सुवेदीको कृति बहुरुपी, सुधीर शर्माको कृति भिक्षु, व्यापार र विद्रोह (नेपालको भोट–चीन सम्बन्ध र भारत) र तीर्थ गुरुङको कृति हिउँको गीत शीर्ष ७ मा परेको गुठीले जनाएको छ ।

गुठीले छनोट भएका शीर्ष ७ कृतिहरुबाट एक कृति छनोट गरी ‘मदन पुरस्कार–२०८१’ बाट सम्मान गर्ने जनाएको छ । विसं २०१२ सालमा स्थापित मदन पुरस्कार गुठीले २०१३ मा पहिलोपटक गद्य, सामाजिक शास्त्र र विज्ञान विधामा तीन कृतिलाई पुरस्कृत गरेको थियो । गुठीले २०७२ देखि गुठीमा प्राप्त पुस्तकमध्येबाट बढीमा १० वटा पुस्तक छनोट गरी सूची सार्वजनिक गर्ने गरेको छ । २०७५ सालबाट पुरस्कार राशि चार लाख रुपैयाँ पु¥याइएको छ ।