हेटौंडाः मकवानपुरको कुलेखानीस्थित सिमखोलमा बेलिब्रिज जडान कार्य तिब्र बनाइएको छ । कुलेखानी जलविद्युत् आयोजनाको जलाशय (इन्द्रसरोवर)को ड्याममुनिको सिमखोलामा बेलिब्रिज जडान कार्य तिव्र बनाइएको हो ।
गत असोज १० देखि १२ गतेसम्म परेको अविरल वर्षापछि इन्द्रसरोवरको बाँधको ढोका खोल्दा सिमखोलाको पुलको दुबैतर्फको पहुँचमार्ग बगाएको थियो । पुल क्षतिग्रस्त भएपछि डाइभर्सन बनाएर यातायात सुचारु गराइएको थियो । वर्षा अघि नै बेलिब्रिज जडान गरेर सञ्चालन गर्ने योजना रहेकोमा पूर्वतयारीका काम गर्न ढिलाई भए पनि चाँडै काम सक्नेगरी जडान कार्यलाई तिब्र बनाइएको हो ।
आगामी साताभित्रै काम सम्पन्न गरेर सवारी सञ्चालन गर्ने योजना रहेको यातायात पूर्वाधार निर्देशनालय हेटौंडाका प्रमुख इन्जिनियर नवीनकुमार सिंहले जानकारी दिनुभयो । सिंहका अनुसार बेलिब्रिज जडान कार्य सकेर सवारीसाधन सञ्चालनमा ल्याउने गरी तिव्र गतिमा काम भइरहेको छ । गत सातादेखि बेलिब्रिज जडानको काम थालिएको उहाँले बताउनुभयो । दक्ष जनशक्ति र आवश्यक उपकरण प्रयोग गरेर बेलिब्रिज जडानको काम भइरहेको उहाँको भनाइ छ ।
सिमखोलामा ५७ मिटर लामो बेलिब्रिज हाल्नुपर्ने भएकाले सोही सडक अन्तर्गतका २ वटा बेलिब्रिज झिकेर ल्याएको निर्देशक सिंहले बताउनुभयो । सिमखोलामा बेलिब्रिज हाल्नका लागि भैंसे–भीमफेदी सडकखण्डको घट्टेखोलामा रहेको १३ मिटर लामो र मान्डु खोलामा रहेको ५० मिटर लामो बेलिब्रिज झिकेर ल्याइएको उहाँले जानकारी दिनुभयो ।
साउनको १५ गतेभित्र नै बेलिब्रिज हालेर सवारी साधन आउजाउ गराउने लक्ष्यका साथ काम भइरहेको प्रमुख इन्जिनियर सिंहले बताउनुभयो । हालसम्म पुल निर्माणको ८० प्रतिशत काम भएको र पुललाई आकर दिनेगरी जडानको काम भइरहेको उहाँले बताउनुभयो । निर्माण व्यवसायीको तर्फबाट पनि साउन १५ मा काम सक्ने गरी प्रतिवद्धता आएको उहाँको भनाइ छ ।
बेलिब्रिज राख्न, पक्की पहुँच मार्ग बनाउन र पुल वरिपरिको क्षतिग्रस्त सडक निर्माण गर्न गौरव इन्जिनियर्स प्रालिले एक करोड ७९ लाख रुपैयाँमा ठेक्का लिएको उहाँले बताउनुभयो । उक्त कम्पनीले गत बैशाखदेखि काम थालेको र बढीले क्षति पुगेका स्थानमा पहुँच मार्ग निर्माणका लागि प्लम्प वाल लगाउने, बाँधसहितको मेसिनरी वाल निर्माण, बेलिब्रिजको लागि बेस निर्माणलगायतको काम सम्पन्न गरेको उहाँको भनाइ छ ।
भारी वर्षासँगै कुलेखानी भरिएपछि ‘ओभर फ्लो’ रोक्न बाँधको ढोका खोल्दा इन्द्रसरोवर गाउँपालिका–२ स्थित कुलेखानी ड्यामको तल्लो भागमा रहेको सिमखोलाको पुलसँगै सडक क्षतिग्रस्त बनेको थियो । सिमखोलाको पुलम क्षति पुगेपछि हेटौंडा–काठमाडौं जोड्ने उक्त सडक सञ्चालनका लागि खोलाबाट डाइभर्सन गरेर सवारी सञ्चालन भइरहेको छ ।










