हेटौंडाः जिल्ला प्रहरी कार्यालय मकवानपुरले हिरासतमा रहेका सबै अभियुक्तको कोरोना परीक्षण गरेको जनाएको छ । जिल्ला अदालतले कोरोना परीक्षण गरेर सङ्क्रमण नभएको प्रमाणसहित अभियुक्तलाई अदालतमा ल्याउन भनेसँगै हिरासतमा रहेका सबैको पीसीआर विधिबाट कोरोना परीक्षण गरिएको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रवक्ता प्रहरी नायव उपरीक्षक ईन्द्रबहादुर रानाले जानकारी दिनुभएको छ ।
प्रहरी नायव उपरीक्षक रानाका अनुसार जिल्ला प्रहरी कार्यालयको हिरासत कक्षमा सोमबार बिहानसम्ममा २० जना रहेका छन् । उनीहरु सबैको कोरोना भाइरस सङ्क्रमण भए नभएको भनी पीसीआर विधिबाट परीक्षण गरिएको छ । अहिलेसम्म जिल्ला प्रहरी कार्यालयको हिरासतमा रहेका कसैमा पनि कोरोना भाइरस सङ्क्रमण देखिएको छैन । जिल्ला प्रहरी कार्यालय मकवानपुरले आवश्यकताअनुसार प्रहरीको पीसीआर विधिबाट कोरोना परीक्षण गरिरहेको जनाएको छ ।