हेटौँडा : भुटानमा आयोजना हुने साफ यू–१७ महिला च्याम्पियनसिपका लागि नेपाली टिमका ३५ खेलाडीको नामावली सार्वजनिक गरिएको छ । मंगलबार साँझ अखिल नेपाल फुटबल संघ (एन्फा)ले हेटौंडाको गौरिटार रंगशालामा संचालन गरेको छनौट क्याम्पबाट ३५ खेलाडीको नामावली सार्वजनिक गरेको हो ।
छनौट भएका ३५ खेलाडीलाई अखिल नेपाल फुटबल संघ (एन्फा)ले बन्द प्रशिक्षणका लागि समेत बोलाएको हो । यू–१७ महिला च्याम्पियनसिप फुटबल प्रतियोगिताका लागि तयारी स्वरूप नेपाली यू–१७ राष्ट्रिय महिला फुटबल टोलीको बन्द प्रशिक्षण सुरु गर्न एन्फाले गत साउन ४, ५ र ६ गते हेटौँडा छनौट कार्यक्रम संचालन गरेको हो ।
छनौट भएका ३५ खेलाडीहरूको नामावली सार्वजनिक गर्दै एन्फाले आगामी साउन ८ गते साँझ ६ बजेसम्म अनिवार्य रूपमा रेगल हेटौंडा रिसोर्ट, मकवानपुरमा उपस्थित हुन सुचित गरेको छ । उपस्थित हुँदा खेलाडीहरूले आफ्नो सक्कल नाबालक परिचयपत्र र पासपोर्ट (भएमा मात्र) अनिवार्य रूपमा साथमा ल्याउनुपर्नेछ एन्फाले जनाएको छ ।
साफ यू–१७ महिला च्याम्पियनसिपमा उत्कृष्ट प्रदर्शन गर्ने लक्ष्यका साथ नेपालले बन्द प्रशिक्षणमार्फत टोली छनोट तथा तयारी प्रक्रिया अघि बढाउने आयोजक समिति सदस्य विनोद कार्कीले जानकारी दिनुभयो । छनौट क्याम्पमा एन्फामा आवद्ध ७ प्रदेश फुटबल संघबाट ३५० भन्दा बढी खेलाडी सहभागी रहेका थिए । एन्फाले जिल्ला र प्रदेश फुटबल संघबाट खेलाडी छनोट गरी केन्द्रीयस्तरका अन्तिम छनोट सुरु गरेको थियो । आगामी भदौ ४ गतेदेखि १५ गतेसम्म भुटानमा साफ यु–१७ महिला च्याम्पियनसिप २०२५ आयोजना हुँदैछ ।










