हेटौँडा : चितवन जिल्लाको भरतपुर महानगरपालिका–१९, शारदानगरमा स्कुटरको ठक्करबाट घाइते भएकी वृद्धाको उपचारको क्रममा मृत्यु भएको छ । गत असार १४ गते राती ८ बजेर ३० मिनेटको समयमा स्कुटरको ठक्करबाट ७८ वर्षीया धनकुमारी क्षेत्री गम्भिर घाइते भएको बागमती प्रदेश प्रहरी कार्यालय हेटौँडाले जानकारी दिएको छ ।
स्कुटरको ठक्करबाट घाईते भएकी धनकुमारीलाई उपचारका लागि चितवनस्थित चितवन मेडिकल कलेज लगिएको थियो । उपचारको क्रममा शनिबार राती ९ बजेको समयमा वृद्धा मृत्यु भएको प्रहरीले जानकारी दिएको छ । स्कुटर चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ । यस्तै नुवाकोट जिल्लाको दुप्चेश्चर गाउँपालिका–६, गौडापुलमा तादी खोलाको छेउमा रहेको दहमा डुबेर बेपत्ता भएका १८ वर्षीय उत्सव श्रेष्ठ मृत फेला परेका छन् । शुक्रबार दिउँसो ४ बजेर ४० मिनेटको समयमा दहमा पौडी खेल्ने क्रममा काठमाडौँको टोखा नगरपालिका–८ का उत्सव बेपत्ता भएको बागमती प्रदेश प्रहरी कार्यालय हेटौँडाले जानकारी दिएको छ ।
दहमा डुबेर बेपत्ता भएका उत्सवलाई खोजी गर्दै जाँदा शनिबार बिहान ८ बजेर २० मिनेटको समयमा दुप्चेश्चर गाउँपालिका–५, बालकुमारी भ्याङलेस्थित तादी खोलाको किनारमा मृत फेला परेको प्रहरीले जनाएको छ ।










