हेटौँडा : फ्रेन्चाइज महिला भलिबल लिगका लागि पोखरा निन्जाजले मकवानपुरका एफआईभीबी लेभल २ कोच सन्तोष श्रेष्ठलाई सहायक प्रशिक्षकको जिम्मेवारी दिएको छ । निन्जाजले अनुभवी प्रशिक्षक रूपेशकुमार विष्टलाई मुख्य प्रशिक्षकको जिम्मेवारी दिएको छ । नेपालकै एकमात्र फ्रेन्चाइज आधारित महिला भलिबल लिग ‘वात्सल्य एभरेष्ट महिला भलिबल लिग’को दोस्रो संस्करणका लागि निन्जाजले प्रशिक्षक र सहायक प्रशिक्षक नियुक्त गरेको हो ।

भदौ २० गतेबाट आयोजना हुने लिगमा सहभागी हुने पोखरा निन्जाजले आफ्नो टोलीको प्रशिक्षण तीव्र पार्ने जनाएको छ । सहायक प्रशिक्षकको जिम्मेवारी पाउनुभएका सन्तोषले अन्तर्राष्ट्रियस्तरको खेलमा समेत प्रशिक्षण दिनुभएको छ । विगत १० वर्षदेखि काम गरिरहनुभएका सन्तोष लिगको पहिलो संस्करणमा कर्णाली यशवीसको कोच रहनुभएको थियो । शुक्रबार नेपाली भलिबलको इतिहासमा पहिलोपटक महिला खेलाडीहरुको अक्सन भएको छ । वात्सल्य एभरेष्ट महिला भलिबल लिगको यो ऐतिहासिक अक्सन काठमाडौंमा भएको हो । ६ वटा फ्रेन्चाइज टोलीहरुको सहभागितामा अक्सन भएको थियो ।

प्रत्यक्ष बोलकबोल प्रणालीमार्फत् फ्रेन्चाइज टोलीहरुले राष्ट्रिय खेलाडीदेखि नवप्रतिभा र उदाउँदा खेलाडीहरुलाई आफ्नो टिममा चयन गरेका छन् । प्रत्येक टिमले ८ जना राष्ट्रिय खेलाडी, ३ विदेशी खेलाडी र एक स्थानीय खेलाडी चयन गर्नेछ । लिगमा पोखरासँगै कर्णाली यशवीस, ललितपुर क्विन्स, काठमाडौं स्पाइकर्स, मधेश युनाइटेड र लुम्बिनी लाभाज सहभागी हुनेछन् । गत वर्ष भएको पहिलो संस्करणको उपाधि कर्णाली यशवीसले जितेको थियो ।