शिक्षक नायक गोष्ठीमा सहभागी अतिथिहरु ।

हेटौँडा : नेपाल रेडक्रस सोसाइटी मकवानपुर जिल्ला शाखाको आयोजनामा जिल्लास्तरीय शिक्षक नायक गोष्ठी सम्पन्न भएको छ । हेटौँडा–८ स्थित चन्द्रोदय माध्यमिक विद्यालयको आतिथ्यतामा सम्पन्न कार्यक्रममा जिल्लाका सामुदायिक तथा संस्थगत गरी ८५ वटा विद्यालयका शिक्षक नायकहरु सहभागी गोष्ठीले शैक्षिक संस्थामा रेडक्रसलाई अभियानको रूपमा संचालन गरी जुनियर/युवा सर्कल गठन तथा पुनर्गठन गर्ने, रेडक्रस परिचयात्मक गोष्ठी तथा पालिकास्तरीय प्राथमिक उपचार तथा विपद् व्यवस्थापन लगायतका विभिन्न तालिमहरु संचालन गर्ने लगायतको निर्णय गरेको छ ।

आगामी भदौ १३ र १४ गते हेटौँडा–१९ स्थित अरनिको माध्यमिक विद्यालयको आतिथ्यतामा आयोजना हुने जिल्ला जुनियर/युवा रेडक्रस गोष्ठीमा जिल्लाका सबै शैक्षिक संस्थाले सक्रिय सहभागिता जनाउने लगायतका ६ वटा विषयमा छलफल भई निर्णय गरिएको बताइएको छ । गोष्ठीमा अन्तर्राष्ट्रिय रेडक्रस अभियानको सन्दर्भमा सुमित्रा काफ्ले, नेपाल रेडक्रस अभियान बारे पिताम्बर बास्तोला, शिक्षक नायकको काम कर्तव्यबारे शिवहरि दाहाल, जुनियर युवा अभियान बारे लक्ष्मण भट्टराईले सहजीकरण गर्नुभएको थियो ।

रेडक्रस मकवानपुरका उपमन्त्री तथा जिल्ला जुनियर युवा समितीका संयोजक शिवहरि दाहालको अध्यक्षता तथा मकवानपुर जिल्लाकी प्रमुख जिल्ला अधिकारी स्किम श्रेष्ठको प्रमुख आतिथ्यमा गोष्ठीको उद्घाटन कार्यक्रम भएको हो । गोष्ठीको उद्घाटन समारोहमा श्रमिक माविका प्रधानाध्यापक श्रीराम दाहाल, ज्ञानदीप बहुउद्देश्यीय सहकारी संस्था लिमिटेडका अध्यक्ष ऋषिराम पोखरेल चन्द्रोदय माध्यमिक विद्यालयका प्रधानाध्यापक जिधराज ढकालको पनि आतिथ्य रहेको थियो ।