हेटौँडा : गजल मञ्च मकवानपुरको आयोजनामा शनिबार २ सय २६ औं गजल यात्रा तथा कृति विमर्श कार्यक्रम भएको छ । चितवन निवासी साहित्यकार रामकृष्ण अनायसको गजल सङ्ग्रह ‘अनायस’ बारे विमर्शसहित गजल यात्रा सम्पन्न भएको हो । गजल संग्रहका बारेमा झरना साहित्यिक परिवार मकवानपुरका अध्यक्ष विश्वनाथ सञ्जेल र गजल मञ्च चितवनका पूर्वअध्यक्ष रमेश प्रभातले बोल्नुभएको थियो ।
गजल मञ्च चितवनले प्रकाशन गरेको रामकृष्ण अनायसको गजल संग्रहमा ७० वटा गजलहरु समेटिएका छन् । अधिकांश चार शेर र कुनै पाँच शेरमा रचना गरिएको सो गजल संग्रहमा जम्मा ३ सय ६ वटा शेरहरु रहेका छन् । यसअघि ‘अनायसका पानाहरु’ नामक इ–गजल संग्रह र ‘धमिलिएका डोबहरु’ नामका सवाल जवाफ गजल संग्रहहरु प्रकाशित भइसकेका छन् । उहाँको गजल संग्रहमा प्रणय रसका साथै समसामयिक राजनीतिलाई कटाक्ष गरिएको बताउनुभयो । यस्तै सामाजिक बेथिति बिरुद्ध खबरदारी र सुशासनका पक्षमा अभिमत प्रस्तुत गरिएका गजलहरु समेटिएको उहाँले बताउनुभयो ।
कार्यक्रममा कृतिकार रामकृष्ण अनायससँगै मकवानपुरका ८ जना गजलकारहरुले आफ्ना रचना वाचन गरेका थिए । गजल मञ्च मकवानपुरका पूर्व अध्यक्ष देवराज तिवारीको प्रमुख आतिथ्य तथा मञ्चका अध्यक्ष सन्जित श्रेष्ठको सभाध्यक्षतामा भएको कार्यक्रममा कृतिकार रामकृष्ण अनायस, साहित्य संगम मकवानपुरका अध्यक्ष डिबी बर्तौला, मुक्तक मञ्च मकवानपुरका अध्यक्ष सागर तिमल्सिना, गजल मञ्च चितवनका पूर्वअध्यक्षद्वय रमेश प्रभात, लेखराम सापकोटा, साहित्यकार रमेशमोहन अधिकारी, गजल मञ्च मकवानपुरका निवर्तमान अध्यक्ष केशव समर्पण, साहित्यप्रेमी तथा समावसेवी मुक्ति गोबिन्द वैद्यलगायत जिल्लाका साहित्यकारहरुको उपस्थिति रहेको थियो ।











