
हेटौँडा : हेटौंडा राइडर्स क्लबको आयोजनामा आठौं संस्करणको हेटौँडा कोरा–२०२५ साइकल च्यालेन्ज शनिबार सम्पन्न भएको छ । कोरामा सहभागी ३ सय २५ जना साइकलिस्ट मध्ये हेटौँडा–४ का रविकृष्ण नकर्मी उत्कृष्ट राइडर घोषित हुनुभएको छ । कोरा राइडमा ४० जना महिला पनि सहभागी थिए ।
शनिबार बिहान हेटौँडा–४ स्थित भुवनेश्वर महादेव मन्दिर परिसरबाट सुरु भएको साइकल यात्रा हेटौँडा उपमहानगरका विभिन्न धार्मिकस्थलको परिक्रमा गरी हेटौँडा बजारको बुद्धचोकमा समापन भएको थियो । हेटौँडा कोराको उद्घाटन कार्यक्रम मकवानपुर उद्योग वाणिज्य संघका अध्यक्ष प्रमोदसिंह रानाभाटको प्रमुख आतिथ्यमा सम्पन्न भएको हो । भुवनेश्वर महादेव मन्दिरबाट सुरु भएको साइकल यात्रा हेटौँडा–१० स्थित भुटनदेवी मन्दिर, हेटौँडा–२ स्थित जलेश्वर मन्दिर, हेटौँडा–५ स्थित रुद्रेश्वर मन्दिर हुँदै हेटौँडाका विभिन्न स्थानमा साइकल यात्रा तय गरिएको थियो ।
मन्दिर परिसरमा पुग्दा साइकल यात्रीलाई स्वागत गरिएको थियो । रुद्रेश्वर महादेव मन्दिर परिसरमा खैँजडी भजन समूहले स्वागत गरेका थिए । हेटौँडा–१५, भोर्लेस्थित श्री आधारभूत विद्यालय परिसरमा खानाको कार्यक्रम रहेको थियो । वडा कार्यालयले नै खानाको व्यवस्थापन गरेको आयोजक हेटौँडा राइडर्स क्लबले जनाएको छ । श्री आधारभूत विद्यालय परिसरमा स्लो राइड प्रतियोगिता समेत आयोजना गरिएको थियो । प्रतियोगितामा राजिप ठाकुर प्रथम, जतन रसाइली दोस्रो र रेनिस श्रेष्ठ तेस्रो भए । उनीहरुलाई लक्ष्मण साइकल स्टोर्सले क्रमशः हेल्मेट, ग्लोब्स र एलेन्की पुरस्कारस्वरुप प्रदान गरिएको थियो । कोरा राइडमा सहभागी २ जना ज्येष्ठ र एकजना कान्छा राइडरलाई निको अस्पतालले निशूल्क मुटु स्वास्थ्य परीक्षण गराउने घोषणा गरेको छ ।
कोराको अर्थ पवित्र मन्दिर, चैत्य, गुम्बा, मूर्ति लगायत सम्मानित चिजलाई दायाँ पारेर घुम्नु हो । यसर्थ हेटौँडाका पवित्र धार्मिकस्थलहरुलाई दायाँ पारेर परिक्रमा गर्ने रुट मिलाइएको आयोजकले जानकारी दिएको छ । सन् २०१८ देखि आयोजना हुँदै आएको यो कार्यक्रमको उद्देश्य शहरलाई साइकलसँग जोड्नु र स्थानीय तीर्थस्थल र वस्तीहरुको पहिचान गराउनु रहेको क्लबका अध्यक्ष विकास ताम्राकारले बताउनुभयो । जिल्ला बाहिरबाट चितवन, पर्सा, बारा, काठमाडौं लगायतका जिल्लाबाट पनि सहभागीहरु आउने भएकोले हेटौँडाको पर्यटन प्रवद्र्धनमा टेवा पुग्ने अपेक्षा आयोजकको छ ।










