हेटौँडा : बकैया गाउँपालिका–५ स्थित प्रभात माध्यमिक विद्यालयको प्रधानाध्यापकमा धनबहादुर लामा नियुक्त हुनुभएको छ । उहाँ यसअघि विज्ञान विषयका शिक्षकको रूपमा कार्यरत हुनुहुन्थ्यो ।
लामा २०६९ सालमा राहत शिक्षकका रूपमा शिक्षण पेशामा प्रवेश गर्नुभएको हो भने २०७१ सालमा स्थायी नियुक्ति पाउनुभएको थियो । प्रभात माविमा उहाँ २०७३ साल फागुन १८ गतेदेखि कार्यरत रहँदै आउनुभएको छ । विद्यालयले २०८२ साल असार ३२ गतेदेखि लामालाई प्रधानाध्यापकको जिम्मेवारी दिएको हो । प्रधानाध्यापक लामाले विद्यालयले अझै पनि भौतिक संरचनाको अभावको सामना गरिरहेको बताउनुभयो । उहाँले शैक्षिक गुणस्तर अपेक्षाअनुसार नपुगेको स्वीकार गर्नुहुँदै गणितबाहेक अन्य विषयमा केही हदसम्म सन्तोषजनक अवस्था रहेको उल्लेख गर्नुभयो ।
शैक्षिक सत्र २०८१ मा ३७ जना विद्यार्थी एसईईमा सहभागी भएका मध्ये ३ जना विद्यार्थी मात्र उत्तीर्ण भएका थिए । चालु शैक्षिक सत्र २०८२ मा विद्यालयमा कक्षा १ देखि १० सम्म करिब ३०० जना विद्यार्थी अध्ययनरत छन् । कक्षा १० मा हाल २७ जना विद्यार्थी अध्ययनरत छन् । निजी स्रोत तथा स्थायी गरी २१ जना शिक्षक कार्यरत छन् । अघिल्लो वर्षको नतिजा कमजोर आएका कारण गत असार २४ गते विद्यालयमा एसईई नतिजा समीक्षा कार्यक्रम आयोजना गरिएको थियो । सो कार्यक्रममा वडा अध्यक्ष लक्ष्मी जिम्बा, शिक्षक–कर्मचारी, अभिभावक, विद्यालय व्यवस्थापन समिति अध्यक्ष शेरमान घलान लगायतको उपस्थिति रहेको थियो ।
शैक्षिक सुधारको प्रयासस्वरूप ४ कक्षादेखि ७ कक्षासम्मका विद्यार्थीलाई क्षमता, रुचि र समस्या पहिचान गरेर दुई समूहमा विभाजन गरी ‘आईसियु कक्षा’ नाम दिइएका अतिरिक्त क्रियाकलापहरू सञ्चालन गरिने भएको छ । साथै ८ कक्षादेखि १० कक्षासम्मका विद्यार्थीका लागि अतिरिक्त कक्षाहरू सञ्चालनमा छन् । ‘विद्यालयको शैक्षिक गुणस्तर सुधार गर्न सरोकारवालासँग समन्वय गर्दै परिणाममुखी काम गर्ने प्रतिबद्धताका साथ अघि बढिरहेका छौँ’, प्रधानाध्यापक लामाले बताउनुभयो ।










