हेटौंडाः मकवानपुरको पूर्विक्षेत्रस्थित बकैया गाउँपालिकाको सेवा बन्द भएको छ । पालिकामा कार्यरत कर्मचारीको परिवारको सदस्यमा कोरोना भाइरसको सङ्क्रमण पुष्टि भएको उल्लेख गर्दै अर्को सूचना जारी नभएसम्मका लागि पालिकाले सेवा प्रवाह बन्द गर्ने जनाएको हो ।
गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत लक्ष्मण पुडासैनीले आज साँझ एक सूचना जारी गर्नुहुँदै आजदेखि गाउँपालिकाले प्रदान गर्ने सम्पूर्ण सेवाहरु बन्द गरिएको जानकारी गराउनुभएको छ । हेटौंडास्थित किटजन्य रोग अनुसन्धान तथा तालिम केन्द्रमा स्थापित कोरोना प्रयोगशालाबाट आज दिउँसो प्राप्त रिपोर्टमा बकैया गाउँपालिकाको एकजनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको थियो ।