लागूऔषध गाँजासहित पक्राउ परेका वीरेन्द्र चौधरीलाई सार्वजनिक गर्दै प्रहरी ।

हेटौँडा : हेटौँडा हुँदै पथलैया पुगेको ७ किलो ४७० ग्राम लागूऔषध गाँजासहित बारा प्रहरीले एकजनालाई पक्राउ गरेको छ । बुधबार दिउँसो ३ बजेको समयमा प्रहरी चौकी पथलैयाबाट प्रहरी नायव निरीक्षक बब्बी बम्जनको कमाण्डमा खटिएको प्रहरी टोलिले पथलैयाचोकबाट लागूऔषध गाँजासहित सर्लाही जिल्लाको विष्णु गाउँपालिका–३, मधुवनगोठका ५४ वर्षीय वीरेन्द्र चौधरीलाई पक्राउ गरेको छ ।

नारायणघाटबाट हेटौँडा हुँदै मलंगवातर्फ जाँदै गरेको ना ५ ख ४८२२ नम्बरको यात्रुबाहक बसलाई रोकेर सुरक्षाजाँच गर्ने क्रममा लागूऔषधसहित चौधरीलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ । प्रहरीले चौधरीलाई हिरासतमै राखेर आवश्यक अनुसन्धान तथा कारवाही प्रक्रिया अगाडि बढाएको छ ।