हेटौँडा : ६३ औं ‘इन्जिनियर दिवस’ को सन्दर्भमा हेटौँडामा बिहीबार प्रभातफेरी र बहसको कार्यक्रम आयोजना गरिँदैछ । नेपाल इन्जिनियर्स एसोसिएसन बागमी प्रदेश समितिको आयोजनामा बिहीबार हेटौँडामा प्रभातफेरी र बहसको कार्यक्रम आयोजना गरिएको हो । इन्जिनियर दिवस (साउन ३ गते) का दिन केन्द्रको कार्यक्रम भएकोले २ दिन अगाडि बागमती प्रदेश समितिले हेटौँडामा कार्यक्रम आयोजना गरेको प्रदेश समितिका अध्यक्ष बलराम पुडासैनीले जानकारी दिनुभयो ।
बुधबार साँझ हेटौँडामा पत्रकार सम्मेलन गरेर इन्जिनियर दिवसको कार्यक्रमका बारेमा जानकारी गराएको थियो । बुद्धचोकबाट सुरु हुने प्रभातफेरी हेटौँडा बजार क्षेत्रको परिक्रमा गर्नेछ । प्रभातफेरीपछि इन्जिनियर दिवसको समारोह बागमती प्रदेश सरकारको आर्थिक ममिला तथा योजना मन्त्री कुन्दनराज काफ्लेको प्रमुख आतिथ्यमा हुनेछ । इन्जिनियर दिवसकै अवसरमा इन्जिनियरिङ पेशाको व्यावसायिकतामा कृत्रिम वौद्धिकता (एआई) को भूमिका विषयक समूह बहसको समेत आयोजना गरिएको अध्यक्ष पुडासैनीले बताउनुभयो ।
बहसलाई इन्जिनियर सुमन लम्सालले सहजीकरण गर्नुहुनेछ भने इन्जिनियर आशिष थापा मगर, इन्जिनियर प्रदीप भण्डारी र इन्जिनियर विक्रम खतिवडा सहभागी हुनुहुनेछ । पछिल्लो समय प्राविधिक शिक्षातर्फ नयाँ पुस्ताका विद्यार्थीको चासो कम हुँदै जानु चिन्ताको विषय भएको उल्लेख गर्नुहुँदै प्रदेश समिति अध्यक्ष पुडासैनीले उच्च शिक्षामा प्राविधिक शिक्षाप्रति आकर्षण बढाउन जरुरी रहेको औँल्याउनुभयो ।











