हेटौंडा : मकवानपुरको मकवानपुरगढी गाँउपालिकाका विद्यालयहरुमा प्रथम त्रैमासिक परीक्षा सुरु भएको छ । मंगलबारबाट सुरु भएको परीक्षा साउन ६ गते मंगलबारसम्म सञ्चालन हुने गाउँपालिकाका शिक्षा सहजकर्ता कमल फुयालले जानकारी दिनुभयो ।
गाँउपालिकामा कुल ३७ वटा विद्यालयहरु रहेका छन् । पालिकामा ४ देखि १० कक्षासम्म पठनपाठन हुने १७ ओटा विद्यालयमध्ये १२ वटा विद्यालयमा परीक्षा सञ्चालन भएको सहजकर्ता फुयालले जानकारी दिनुभयो । पहिलो त्रैमासिक परीक्षा भएकाले विद्यालय आफैँले प्रश्नपत्र निर्माण गरेर त्रैमासिक परीक्षा सञ्चालन गरिरहेको उहाँले जानकारी दिनुभयो ।
पालिकाले तयार गरेको वार्षिक कार्यतालिकाअनुसार १२ वटा विद्यालयलमा परीक्षा सञ्चालन भए पनि ५ वटा विद्यालयले परीक्षा सारेका हुन् । शिक्षक आन्दोलनका कारण पठनपाठन पछि सुरु भएकाले वडा कार्यालयसँग समन्वय गरेर परीक्षा पछाडि सारिएको उहाँले बताउनुभयो ।
गाउँपालिकाका रानीशेरा माविले साउन १०, भानु माविले साउन १४, शारदा माविले साउन ९, ज्वालादेवी आधारभूत विद्यालय र मनकामना माविले साउन ८ गतेबाट परीक्षा सञ्चालन गर्ने फुयालले जानकारी दिनुभयो ।
पालिकाभित्र १० वटा मावि, ७ वटा निमावि र २० वटा प्रावि गरी ३७ वटा विद्यालय रहेका छन् । यसवर्ष ५ हजार २९ जना विद्यार्थी भर्ना भएको शिक्षा सहजकर्ता फुयालले जानकारी दिनुभयो ।









