हेटौँडा : मकवानपुरको कैलाश गाउँपालिका–३ स्थित विपन्न र जोखिममा परेका बालबालिकाका लागि सञ्चालित भनिएको एक बालगृहमा बस्दै आएकी किशोरीले आफू त्यहीँ पटक–पटक बलात्कार भएपछि प्रहरीमा जाहेरी दिएकी छिन् । होस्टेल प्रमुखमाथि नै यस्ता गम्भीर आरोप लागेपछि व्यवस्थापन र निरीक्षणप्रति प्रश्न उठेको छ ।

१७ वर्षीया किशोरी चार वर्षदेखि सांग्रीला डेभलपमेन्ट एसोसिएसनले सञ्चालन गर्दै आएको होस्टेलमा बस्दै आएकी थिईन् । उनका बाबुको केही वर्षअघि दुर्घटनामा मृत्यु भएको थियो भने आमा सम्पर्कविहीन छिन् । मामाघरको हजुरआमासँग बसिरहेकी उनी कमजोर आर्थिक अवस्थाका कारण बालबालिका संरक्षणका लागि खोलिएको भनिएको होस्टेलमा थिइन् । हाल त्यहाँ उनीसहित १५ जना बालिकाहरू छन् । तर, गत जेठ १ गतेदेखि ८ गतेसम्मकै अवधिमा होस्टेल प्रमुख मधुसुधन रावतले आफूलाई पटक–पटक बलात्कार गरेको उनी बताउँछिन् । किशोरीको जाहेरीपछि जिल्ला प्रहरी कार्यालय मकवानपुरले घटनाको अनुसन्धान सुरु गरेको छ ।

१७ वर्षीया ती किशोरीले दिएको जाहेरीका अनुसार सांग्रीला डेभलपमेन्ट एसोसिएसनले सञ्चालन गर्दै आएको मकवानपुरको कैलाश गाउँपालिकास्थित फिल्डका हेड अफिसर मधुसुधन रावतले गत जेठ १ गतेदेखि असार ८ गतेसम्मकै बीचमा आफूलाई पटक–पटक बलात्कार गरेको आरोप छ । जिल्ला प्रहरी कार्यालय मकवानपुरमा उजुरी दर्ता भएपछि प्रहरीले अनुसन्धान थालेको छ ।

जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रवक्ता डीएसपी श्यामु अर्यालले उजुरी दर्ता भएको पुष्टि गर्नुभयो । ‘जाहेरीका आधारमा अनुसन्धान अगाडि बढाइएको छ’, उहाँले भन्नुभयो । हाल किशोरीलाई हेटौँडाको एक सेफ हाउसमा राखिएको छ । जाहेरीका अनुसार होस्टेलको कर्मचारी रावतको कोठामा दुध पुर्‍याउन गएको बेला ती किशोरीलाई बलात्कार गरिएको आरोप छ । पछि धम्की र मानसिक दबाबमा राखेर पटक–पटक जबर्जस्ती गरेको आरोप पीडितले लगाएकी छिन् । ती किशोरीमाथि १८ महिना पहिले पनि बलात्कार भएको भन्दै उजुरी परेको थियो । त्यो घटनामा आरोपीलाई अदालतले केही दिनअघि पुर्पक्षका लागि थुनामा पठाइसकेको छ ।

संरक्षण र शिक्षा दिने उद्देश्यले सञ्चालित होस्टेलमै यस्तो घटना हुनुले व्यवस्थापनको कमजोरी र निरीक्षणको अभाव देखाएको अधिकारकर्मीहरूको भनाइ छ । मानव अधिकारकर्मी तथा गैसस महासंघ मकवानपुरकी अध्यक्ष रमिला सापकोटाले जसको जिम्मामा बच्चाहरूको सुरक्षा छ, त्यही कर्मचारीमाथि यस्ता गम्भीर आरोप लाग्नु निकै गम्भीर विषय रहेको बताउनुभयो । उहाँको यस्ता घटनाको स्वतन्त्र र निष्पक्ष छानबिन हुनुपर्नेमा जोड दिनुभएको छ । उहाँका अनुसार यस्ता घटनाले स्थानीय अधिकारकर्मीहरूको काममा थप चुनौती थपिदिएको छ । उहाँले भन्नुभयो, ‘हामी विपन्न समुदायको संरक्षण र चेतना अभिवृद्धिका लागि निरन्तर गाउँगाउँ पुगिरहेका छौं । यस्ता संस्थामा यस्तो घटना हुनु निकै दुखद छ । घटनामा जिम्मेवारीबाट पन्छिन खोज्नु हुँदैन । पीडितमाथि एकपछि अर्को घटना भइरहँदा स्थानीय सरकार र संस्थाले गम्भीर भएर सोच्नुपर्ने अवस्था आएको छ ।’

सापकोटाका अनुसार यस्ता घटनामा संस्थाले आफूलाई कानुनी र सामाजिक हिसाबले पनि जिम्मेवार ठान्नुपर्छ । ‘अहिले पनि पीडितले न्याय नपाउँदा, र एक महिनासम्म पनि प्रहरीले मुख्य आरोपीलाई पक्रन नसक्दा घटना झन् शंकास्पद बनेको छ’, उहाँले भन्नुभयो, ‘उनले स्थानीय सरकारलाई थप सक्रिय र जवाफदेही भएर बालबालिकाको सुरक्षामा ध्यान दिनुपर्नेमा जोड दिनुभयो ।
यसैबीच, कैलाश गाउँपालिकाका अध्यक्ष लोकबहादुर मुक्तान भने यो विषयबारे अहिलेसम्म कुनै जानकारी नआएको बताउनुभयो । ‘हामीले पहिल्यै पनि यस्तो कुनै घटना नहोस् भनेर सबैलाई सचेत गराएका थियौं । तर, अहिले फेरि यस्ता घटना भएको खबर सुन्दा दुःख लाग्यो । संस्था राम्रो उद्देश्यका लागि काम गर्दै आएको छ, तर त्यसको नाममा गलत काम स्वीकार्य छैन’, मोक्तानले भन्नुभयो, ‘गाउँपालिकाले यस विषयमा अब थप जिम्मेवारीपूर्वक अनुगमन गर्नेछ ।’

उहाँले भन्नुभयो, ‘संस्थाले यो विषय गाउँपालिकालाई जानकारी नदिई लुकाउन खोजेको जस्तो देखिन्छ । हामीले पहिले पनि यस्तो नहोस् भनेर सुझाव दिएका थियौं । तर, अहिले बजेट लगायतका काममा व्यस्त रहँदा घटनाबारे थाहा पाउन सकेनौं । अब भने थप गम्भीर भएर काम गर्छौं ।’ यता, सांग्रीला डेभलपमेन्ट एसोसिएसनका संयोजक सागर थापाले भने घटनाबारे अनुसन्धान प्रहरीले गरिरहेको बताउनुभयो । ‘हामी हाम्रो तर्फबाट प्रहरीले मागेका सबै विवरण र सहकार्य गरिरहेका छौं’, उहाँले भन्नुभयो । घटनामा संस्थाको तर्फबाट कुनै पनि सहयोग आवश्यक परे तत्काल उपलब्ध गराउने आश्वासनसमेत उहाँले दिनुभयो । स्थानीय प्रहरी र सरोकारवाला निकायहरूले घटनाको निष्पक्ष छानबिन गर्ने र दोषीलाई कानुनी दायरामा ल्याउने आश्वासन दिएका छन् । तर, होस्टेलकै नेतृत्वबाट यस्तो घटना भएको आरोपले संस्थागत व्यवस्थापन र राज्य नियमनमाथि प्रश्न उठेको छ ।